पोखरा । स्थानीय खाद्य परिकार, सीप तथा उद्यमशीलताको प्रवर्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा खाना महोत्सव सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिकाको शिक्षा महाशाखा तथा छोरेपाटन माध्यमिक विद्यालयको आयोजनामा हेल्भेटास अन्तर्गतको इन्स्योर परियोजनाको आर्थिक सहयोगमा २०८३ जेठ २७ गते महोत्सव आयोजना गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थीलाई श्रम, सीप र उद्यमशीलताप्रति अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले खाना पकाउने सीप सिकाउने मात्र नभई सामूहिक भावना विकास गर्ने र विद्यार्थीको प्रतिभा पहिचान गर्ने लक्ष्य पनि कार्यक्रमको रहेको बताउनुभयो ।

महोत्सवमा कक्षा १० का विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीहरू १२ समूहमा विभाजन भएर विभिन्न मिष्टान्न तथा खाद्य परिकार तयार गरी विद्यार्थी, अभिभावक तथा सहभागीलाई स्वाद गराएका थिए ।
सहजकर्ता शिक्षक गोपी बरालका अनुसार विद्यार्थीहरूले चटपट, मःम, चाउमिन, सुक्खा रोटी, पानीपुरी, आलुका विभिन्न परिकार, भुटेका तथा पोलेका मकै लगायतका खाद्य सामग्री तयार गरेका थिए ।
यसले विद्यालयको दिवा खाजा कार्यक्रमलाई समेत थप प्रभावकारी बनाउन सहयोग पुगेको बताइएको छ ।
सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले कार्यक्रमले विद्यार्थीको रचनात्मकता उजागर गरेको र सहभागीलाई स्वाद र सिकाइ दुवै अनुभव गराएको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रत्येक समूहलाई रु. ५ हजारका दरले बिउ पूँजी उपलब्ध गराइएको थियो । महोत्सव सञ्चालनमा शिक्षक गोपी बराल र लीला पराजुलीले सहजीकरण गर्नुभएको थियो ।
यसैबिच, परियोजनाअन्तर्गत विद्यालयले कक्षा ८ र १० का विद्यार्थीलाई पोखरास्थित विभिन्न उद्योगहरूको अवलोकन भ्रमणसमेत गराएको जनाएको छ ।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले स्थानीय खाद्य संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै विद्यार्थीमा व्यवहारिक सिकाइ तथा उद्यमशील सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा होटल व्यवस्थापन विषय सञ्चालन हुन लागेको छोरेपाटन माविमा आयोजना गरिएको खाना महोत्सवलाई त्यसैको तयारीसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ ।