पोखरा । नेपालमा पर्यटन प्रवर्धन गर्दै भारतीय पर्यटक आकर्षित गर्ने उद्देश्यसहित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सिज (नाट्टा) गण्डकी प्रदेशले भारतको कोलकातामा ‘पोखरा–नेपाल प्रमोसनल क्याम्पेन एण्ड बीटुबी सेल्स मिसन २०२६’ आयोजना गर्ने भएको छ ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको तयारीबारे जानकारी दिँदै नाट्टा गण्डकी प्रदेशका महासचिव चेतबहादुर कार्की (चेतन)ले अभियान २०८३ जेठ २८ गतेदेखि असार २ गतेसम्म (जुन ११–१५) सञ्चालन हुने जानकारी दिनुभयो ।
अभियानमार्फत पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा थप प्रवर्धन गर्ने तथा भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
पर्यटन व्यवसायीबिच व्यापारिक सम्बन्ध विस्तार तथा व्यावसायिक सहकार्य बढाउन पनि कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार भारतीय बजारलाई केन्द्रमा राखेर सञ्चालन गरिने अभियानले पोखरा र नेपालको पर्यटन सम्भावनालाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
नाट्टा गण्डकी प्रदेशकी अध्यक्ष सङ्गीता पौडेलले अभियान सफल बनाउन सबै सरोकारवालालाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
उहाँले दीर्घकालीन पर्यटन विकास, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका लागि यस्ता अभियान महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले पोखरालाई नेपालको पर्यटन राजधानीका रूपमा थप स्थापित गर्न अन्तर्राष्ट्रिय स्तरका प्रवर्धनात्मक अभियान आवश्यक रहेको धारणा राखेका थिए ।
पत्रकार सम्मेलनमा पर्यटन व्यवसायी, नाट्टाका प्रतिनिधि तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो ।