मानव आवाज

२०८३ जेष्ठ २८ गते
00: 00: 00
२०८३ जेष्ठ २८ गते

फिफा विश्वकप सुरू, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका (तालिकासहित)

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ २०८३ जेठ २९ गते बिहानको रातिबाट सुरु हुँदैछ । फुटबल इतिहासमै पहिलोपटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको विश्वकप फुटबल राति १२:४५ बजे उद्घाटन हुनेछ ।

१९ जुलाईमा न्युयोर्कमा समापन हुने विश्वकपको सुरुवात तीन ओटै आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोहसहित हुँदैछ ।

पहिलो उद्घाटन समारोह मेक्सिको सिटी स्टेडियम, दोस्रो क्यानाडाको टोरन्टो र तेस्रो उद्घाटन अमेरिकाको लस एन्जलसमा हुनेछ ।

मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाउँदै छन् । यसअघि ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए ।

त्यस्तै, प्रतियोगिता १६ सहरका १६ मैदानमा सञ्चालन हुनेछ । पछिल्ला संस्करणमा ६४ खेल हुँदै आएकोमा यसपटक फाइनलसहित १ सय ४ खेल हुनेछन् ।

विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलका नेयमार, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बाप्पे, स्पेनका लामिन यमललगायत स्टार खेलाडी मैदानमा उत्रनेछन् ।

खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोला

Author

Related News