मानव आवाज

२०८३ जेष्ठ २७ गते
00: 00: 00
२०८३ जेष्ठ २७ गते

पोखरास्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्सलाई ‘अति उत्तम’ स्तरीकरण

पोखरा पोखरा महानगरपालिका-६, खहरे लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिको होटल, रेष्टुरेन्ट, चमेना गृह तथा क्याटरिङ व्यवसायको स्तरीकरण सम्पन्न भएको छ ।

“सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठको नेतृत्वमा होटल सङ्घ पोखरा, राष्ट्रिय उपभोक्ता मञ्च तथा सञ्चारकर्मी सम्मिलित टोलीले स्थलगत अनुगमन तथा मूल्याङ्कन गरेको हो ।

होटल, रेष्टुरेन्ट, चमेना गृह तथा क्याटरिङ व्यवसाय स्तरीकरण कार्यविधिअनुसार गरिएको मूल्याङ्कनमा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्सले १०० मध्ये ९० अङ्क प्राप्त गर्दै ३ तारा (क) सहितको ‘अति उत्तम’ श्रेणीको हरियो स्टिकर प्राप्त गर्न योग्य भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पोखरा कार्यालयबाट १९ ओटा होटललाई व्यवसाय स्तरीकरण स्टिकर प्रदान गरिएको छ। जसमध्ये ९० भन्दा बढी अङ्क प्राप्त गर्ने सात ओटा होटलले ३ तारा (क) सहितको ‘अति उत्तम’ हरियो स्टिकर प्राप्त गरेका छन् ।

त्यसैगरी ८० देखि ८९ अङ्क प्राप्त गर्ने सात होटललाई २ तारा (ख) सहितको ‘उत्तम’ हरियो स्टिकर, ६५ देखि ७९ अङ्क प्राप्त गर्ने चार होटललाई १ तारा (ग) सहितको ‘सन्तोषजनक’ हरियो स्टिकर तथा ५० देखि ६४ अङ्क प्राप्त गर्ने एक होटललाई (घ) श्रेणीको ‘सामान्य’ पहेँलो स्टिकर प्रदान गरिएको छ ।

अनुगमनका क्रममा पानीको भण्डारण, कर्मचारी प्रशिक्षण, रेफ्रिजेरेटर तथा फ्रिजको तापक्रम व्यवस्थापन, खाद्य पदार्थ भण्डारण, उपकरणको सरसफाइ, खाना पकाउने तेलको प्रयोग, बाह्य वातावरणको सफाइ, व्यक्तिगत सरसफाइ तथा शौचालय व्यवस्थापनलगायतका विषयमा विशेष मूल्याङ्कन गरिएको थियो ।

कार्यक्रममा लक्ष्मण सुबेदी, राजेन्द्र लिगल, रञ्जना चौधरी, अशोक गौतम, कृष्णकुमार पौडेल तथा पर्यटन व्यवसायी सुनिलबहादुर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

खाद्य अनुसन्धान अधिकृत चौधरीले स्तरीकरण सम्पन्न भएका होटललाई आगामी कार्यक्रममा लोगो तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिँदै स्वस्थ खानपान र खाद्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न सबै होटल व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार खाद्य सुरक्षा मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले गुणस्तरीय सेवा र स्वच्छ खानपान सुनिश्चित गर्न व्यवसायीहरूको सक्रिय सहभागिता आवश्यक छ ।

Author

Related News