मानव आवाज

२०८३ जेष्ठ २५ गते
00: 00: 00
२०८३ जेष्ठ २५ गते

पोखरामा गण्डकी प्रादेशिक उद्यम मेला-२०८३ सम्पन्न

पोखरा । गण्डकी प्रदेशमा उद्यमशीलताको विकास तथा रोजगारी प्रवर्धन गर्ने उद्देश्यले आयोजित ‘गण्डकी प्रादेशिक उद्यम मेला-२०८३ तथा गण्डकी प्रदेश स्तरीय व्यवसाय प्रवर्धन एक्स्पो एवम् सिकाइ गोष्ठी’ २०८३ जेठ २३ गते सम्पन्न भएको छ ।

‘उद्यमी, सरकार, बैङ्क र निजी क्षेत्र एउटै मञ्चमा’ भन्ने नारासहित आयोजित मेलाको आयोजना गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, हुप्सेकोट गाउँपालिका, जलजला गाउँपालिका, सिरानचोक गाउँपालिका, बडिगाड गाउँपालिका, म्यादे गाउँपालिका तथा दायित्वले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले उद्यमशीलताको विकास र युवालाई रोजगारीका अवसर उपलब्ध गराउनु वर्तमान समयको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

यस्ता मेलाले साना तथा मझौला उद्योगलाई टेवा पुर्‍याउनुका साथै उद्यमशीलतामा लाग्न इच्छुक नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे, गण्डकी प्रदेश सभा सदस्य भक्तबहादुर कुँवर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्साल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष रमेशप्रसाद पौडेल तथा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

दायित्वका अन्तरिम अध्यक्ष डा. प्रतिभा पाण्डेले अभियानमार्फत उद्यमीहरूको प्राविधिक ज्ञान र नेतृत्व क्षमतामा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

उहाँका अनुसार उद्यमीहरूले १ करोड रुपियाँभन्दा बढी मूल्यको प्रविधिमा पहुँच प्राप्त गरेका छन् भने स्थानीय प्रदर्शनीमार्फत १० लाख रुपियाँभन्दा बढीको प्रत्यक्ष बिक्रीसमेत गरेका छन् ।

यस अभियानले गाउँ गाउँमा स्थानीय रोजगारी सिर्जना गरी युवालाई आफ्नै स्रोत र साधनको सदुपयोगमार्फत आयआर्जन गर्न सकिने सन्देश दिएको उहाँको भनाइ थियो ।

मेलामा उत्कृष्ट ५० उद्यमीले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी गरिएको थियो । साथै विभिन्न उद्यम, हस्तकला सामग्री तथा शैक्षिक संस्थाका स्टलहरू राखी उद्यमशीलता प्रवर्धन गर्ने प्रयास गरिएको थियो ।

दायित्वका अन्तरिम अध्यक्ष डा. प्रतिभा पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव महराज ढकाल ले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र उद्यमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Author

Share the News

Related News