मानव आवाज

२०८३ जेष्ठ १८ गते
00: 00: 00
२०८३ जेष्ठ १८ गते

गण्डकीमा ‘नमुना बाल प्रदेशसभा’ प्रशिक्षण तथा अभ्यास

पोखरा । बालबालिकालाई लोकतान्त्रिक शासन व्यवस्था, नेतृत्व विकास तथा राजनीतिक प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित ‘नमुना बाल प्रदेश सभा’ सम्बन्धी तीनदिने प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

कन्सोर्टियम नेपालको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म पोखरामा सञ्चालन गरिएको कार्यक्रमको समापन सत्रमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले बालबालिकाको आवाजलाई नीति तथा निर्णय प्रक्रियासम्म पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले राजनीति देशलाई समृद्ध बनाउने महत्वपूर्ण औजार भएकाले बालबालिकामा राजनीतिप्रति सकारात्मक सोच विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचालले राजनीति फोहोर खेल नभई देश सञ्चालन गर्ने एक पद्धति भएको भन्दै बालबालिकालाई यसको सही बुझाइ दिन आवश्यक रहेको बताउनुभयो ।

आगामी वर्षहरूमा अहिलेका बालबालिकाले नै देशको नेतृत्व सम्हाल्ने भएकाले उनीहरूलाई समयमै सही मार्गदर्शन दिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले संविधान, ऐन र नियमद्वारा देश सञ्चालन हुने तथ्यलाई आत्मसात् गर्दै आत्मसम्मानपूर्वक अधिकार प्रयोग गर्न सिकाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको पहिलो दिन बाल अधिकार, प्रदेशसभाको आधारभूत अवधारणा, अर्थपूर्ण बाल सहभागिता तथा कन्सोर्टियम नेपालको भूमिकाबारे प्रशिक्षण दिइएको थियो ।

तीन तहका सरकार, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको परिचय तथा प्रदेशसभासम्बन्धी विषयमा अधिवक्ता कुञ्जनी परियारले सहजीकरण गर्नुभएको थियो ।

नेपालमा नमुना संसद अभ्यासको इतिहास तथा बाल संसदको अवधारणाबारे अमृत देवकोटाले प्रस्तुति दिनुभएको थियो ।

दोस्रो दिन संसदीय प्रक्रिया, भूमिका बाँडफाँड, बालबालिकाको डिजिटल अधिकार, सुरक्षित डिजिटल अभ्यास तथा सूचनाको हकसम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।

प्रदेशसभाका पदाधिकारी चयन, मुख्यमन्त्री निर्वाचन, सभामुख चयन, मन्त्रिपरिषद् गठन, संसदीय समिति गठन तथा ‘बाल साइबर सुरक्षा तथा डिजिटल सचेतना ऐन, २०८३’ माथि समितिगत छलफल समेत गरिएको थियो ।

तेस्रो दिन बाल प्रदेशसभाको अन्तिम अभ्यास, प्रदर्शन तथा अवलोकन भ्रमणका साथै ‘बालबालिकाको नागरिक स्थान सुनिश्चित गर्दै’ विषयमा प्रस्तुति तथा छलफल आयोजना गरिएको थियो ।

कन्सोर्टियम नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज डिल्लीप्रसाद शर्माले बालबालिकाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशमा बाल सहभागिताको अवस्था, चुनौती र अवसरबारे नियमित छलफल तथा अन्तरक्रियामार्फत सचेतना अभिवृद्धिका कार्यहरू हुँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, मानवअधिकार एलायन्स गण्डकीका अध्यक्ष बुद्धिबहादुर थापा, अधिकारकर्मी सङ्गीता भण्डारी, राष्ट्रिय बालअधिकार परिषद, गण्डकी समन्वय अधिकृत बद्रिप्रसाद वाग्ले, चिल्ड्रेन नेपाल, पोखराका कार्यक्रम संयोजक रमेश सुबेदीलगायतका वक्ताहरूले बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न ‘नमुना बाल प्रदेशसभा’ जस्ता अभ्यास प्रभावकारी र अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

कन्सोर्टियम नेपालका केन्द्रीय अध्यक्ष प्रदीप लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका बालबालिकाको सहभागिता रहेको थियो ।

Author

Share the News

Related News