पोखरा । आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत तथा पिछडिएका महिलाको सहभागिता सुनिश्चित गर्न सञ्चार माध्यमहरूले दबाबमूलक र सचेतनामूलक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
महिलाको वास्तविक राजनीतिक सहभागिता सुनिश्चित गर्न निर्वाचन प्रणालीबारे नयाँ बहस आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) गण्डकी प्रदेश समितिले २०८३ जेठ १७ गते पोखरामा आयोजना गरेको ‘आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी नारायण कार्कीले संविधान संशोधनको बहस चलिरहेको वर्तमान अवस्थामा महिलाको जनसङ्ख्याको अनुपातअनुसार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवाज उठाउनुपर्ने बताउनुभयो ।
उहाँले नेपाली समाजमा अझै पनि पुरुषप्रधान सोच हाबी रहेकाले महिलाको नेतृत्व विकासका लागि विशेष व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा कतिपय क्षेत्रमा महिलामहिलाबिच मात्रै प्रतिस्पर्धा गराउने कानुनी वा संवैधानिक व्यवस्था गर्न सके सीमान्तकृत तथा योग्य महिलाहरू नेतृत्वमा पुग्न सहज हुने उहाँको भनाइ थियो ।
कार्कीले सीमान्तकृत महिलाहरू आर्थिक अभाव, अशिक्षा र चेतनाको कमीका कारण दोहोरो चेपुवामा परेको उल्लेख गर्दै उनीहरूलाई मूलधारमा ल्याउन राज्यले विशेष प्राथमिकताका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
महिलाहरू स्वयम् र उनीहरूका परिवार पनि परिवर्तनका लागि सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा क्रियाशील महिला पत्रकार सङ्घ (डब्लुडब्लुजे)की केन्द्रीय सदस्य तथा सञ्चारकर्मी दुर्गा अधिकारीले स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउन सञ्चार माध्यमको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस काउन्सिलका निवर्तमान सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका महासचिव जमुना शर्मा ‘वर्षा’, पत्रकार भरत कोइराला तथा महासङ्घ कास्की शाखाका उपाध्यक्ष माधव रेग्मीलगायतले दलित, उत्पीडित, जनजाति तथा अन्य पछाडि पारिएका समुदायका महिलाको प्रतिनिधित्व आगामी निर्वाचनमा सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो ।
सञ्जालकी अध्यक्ष तथा अधिवक्ता सरिता तिमिल्सिना पङ्गेनीले सञ्चार क्षेत्र अहिले आर्थिक सङ्कटबाट गुज्रिरहेको उल्लेख गर्दै महिलाका मुद्दामा संस्थाले निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि समसामयिक विषयमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पङ्गेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिलन भुजेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव ईश्वरी विकले गर्नुभएको थियो ।