मानव आवाज

२०८३ जेष्ठ १७ गते
00: 00: 00
२०८३ जेष्ठ १७ गते

दुधौलीमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता

सिन्धुली । दुधौली नगरपालिका अन्तर्गत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उपशाखाको आयोजनामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

“समावेशी शासनका लागि महिला सहभागिता” विषयमा आयोजित प्रतियोगितामा नगरभित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारुले विद्यार्थीमा नेतृत्व क्षमता, अभिव्यक्ति कला र सामाजिक विषयप्रतिको चेतना अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले महिला अधिकार, लैङ्गिक समानता र समावेशी शासनको अभ्यास विद्यालय तहदेखि नै विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले महिला सहभागिता, नेतृत्व विकास, निर्णय प्रक्रियामा महिलाको भूमिका, समान अवसर तथा समावेशी शासन व्यवस्थाको महत्वबारे प्रभावकारी रूपमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

उनीहरूले महिला सशक्तीकरणबिना समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै राज्यका हरेक तहमा महिलाको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतियोगितामा नबिया कुमारी कुमर पहिलो हुन सफल भइन् । त्यसैगरी संजोग बराल दोस्रो तथा सिमा राउत तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो । यस्तै, भिमबहादुर खड्काले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।

विजेता विद्यार्थीहरूलाई प्रमाणपत्रसहित क्रमशः नगद रु. ८ हजार, रु. ६ हजार र रु. ४ हजार पुरस्कार प्रदान गरिएको थियो ।

साथै सान्त्वना स्थान प्राप्त विद्यार्थीलाई पनि सम्मानस्वरूप पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा जीवन हरि आचार्य, शाखाकी सदस्य इन्दिरा निरौला तथा आधारभूत विद्यालयका प्रधानाध्यापक निरज कार्की रहनुभएको थियो ।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा नगरपालिकाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै समसामयिक सामाजिक विषयप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

Author

Related News