पोखरा । गण्डकी प्रदेश सरकारको आयोजनामा १९ औँ गणतन्त्र दिवस–२०८३ पोखरामा विभिन्न कार्यक्रमसहित औपचारिक रूपमा मनाइएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र स्थापना जनताको सङ्घर्ष, बलिदान र २०६२/०६३ को जनआन्दोलनको उपलब्धि भएको बताउनुभयो ।
उहाँले गणतन्त्रले नागरिकलाई समान हक, अवसर र सहभागिताको सुनिश्चितता दिएको उल्लेख गर्दै सुशासन, पारदर्शिता, सामाजिक न्याय र रोजगारी वृद्धिमार्फत गणतन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्व नेपालको मौलिक राजनीतिक विशेषता भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा शिक्षा, कृषि, पर्यटन, उद्योग, समाजसेवा, सञ्चार तथा सुरक्षा निकायलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धिताल, गण्डकी प्रदेश सभाका विपक्षी दलका नेता हरिबहादुर चुमानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, व्यवसायी, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य निमित्त प्रमुख सचिवकृष्णप्रसाद लम्सालले गर्नुभएको थियो भने सञ्चालन बैठक तथा प्रशासन शाखाकी उप सचिव होमा पोखर]लले गर्नुभएको थियो ।
गणतन्त्र दिवसको अवसरमा कार्यक्रम परिसरमा नै नसर्ने रोगको निःशुल्क परीक्षण गरिएको थियो । ३ सयभन्दा बढी व्यक्तिको परीक्षण गरेको मुख्यमन्त्री कार्यालयका अधिकृत केदार सापकोटाले जानकारी दिनुभयो ।