पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा ईद-उल-अज्हा पर्वको अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
२०८३ जेठ १४ गते जारी शुभकामना सन्देशमा उहाँले ईद-उल-अज्हा पर्व आपसी रिस, राग र द्वेष बिर्सेर भातृत्व, सहिष्णुता र पारिवारिक मिलनका रूपमा मनाइने उल्लेख गर्नुभएको छ ।
उहाँले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधता नै देशको विशेष पहिचान र आकर्षण भएको बताउनुभएको छ ।
विविधताबिचको एकताले राष्ट्रिय भावना बलियो बनाउने तथा आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा साउदी अरबको मक्कामा हज गर्न जाने धार्मिक परम्पराको समेत चर्चा गरिएको छ ।
शुभकामना सन्देशमा ईद-उल-अज्हा पर्वले सबै नेपालीबिच राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध र समुन्नत समाज निर्माणमा थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।
