ललितपुर । ललितपुर बार एसोसिएसन को २९ औँ कार्यसमिति निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूको प्यानलले उल्लेखनीय सफलता हासिल गरेको छ ।
अधिवक्ता कृष्णप्रसाद सुवेदी नेतृत्वको प्यानलले अधिकांश पदमा विजय हासिल गर्दै बारमा आफ्नो प्रभाव कायम गरेको हो ।
२०८३ जेठ २ गते सम्पन्न निर्वाचनमा सुवेदी संयुक्त विपक्षी प्यानलका उम्मेदवार दयाभक्त डङ्गोललाई ६ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
डङ्गोललाई नेकपाकै असन्तुष्ट समूह, नेपाली कांग्रेस तथा एमाले निकट कानुन व्यवसायीहरूको समर्थन रहेको बताइएको थियो ।
निर्वाचन परिणामसँगै नेकपा निकट कानुन व्यवसायीहरूले बारमा “क्लिनस्वीप” गरेको दाबी गरेका छन् ।
कांग्रेस, एमाले र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी निकट वकिलहरूको प्रभाव यस पटक कमजोर बनेको टिप्पणी गरिएको छ ।
नयाँ कार्यसमिति यस्तो छ
उपाध्यक्षमा भने डङ्गोल प्यानलका विजयकुमार बस्नेत निर्वाचित हुनुभएको छ । अन्य पदमा सुवेदी प्यानलबाट निर्वाचित भएका जनाइएको छ ।
सचिवमा चन्द्रप्रसाद गुरागाई तथा कोषाध्यक्षमा इन्दु पाण्डेय विजयी हुनुभएको छ । यसअघि नै सहसचिव पदमा मीरा महर्जन निर्विरोध निर्वाचित हुनुभएको थियो ।
त्यस्तै सदस्य पदमा सन्ध्या कार्की, पवित्रा आलेमगर, आइमान तामाङ, गोपाल राज अर्याल, दावा तामाङ, सरिता तिमल्सेना, गोविन्द बहादुर पुन, किरण पोख्रेल, रन्जित कँडेल तथा उजला महर्जन निर्वाचित हुनुभएको छ ।
नतिजासँगै नेपाली कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूले ललितपुर बारमा आफ्नो सङ्गठनात्मक पकड अझ मजबुत भएको बताएका छन् ।


