मानव आवाज

२०८३ जेष्ठ ४ गते
00: 00: 00
२०८३ जेष्ठ ४ गते

महिलालाई आत्मनिर्भर बनाउन क्रिस्टल गहना निर्माण तालिम

सिन्धुली । विपन्न वर्गका तथा महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यसहित तिनपाटन गाउँपालिका-८ बाहुनतिल्पुङमा क्रिस्टल गहना निर्माणसम्बन्धी सात दिने तालिम सुरु गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, तिनपाटन गाउँपालिकाको सहकार्य तथा सामूहिक सरोकार समाज सिन्धुलीको आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन २०८३ जेठ २ गते तिनपाटन गाउँपालिका वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद गौतमले गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष गौतमले गाउँपालिकाले महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्न सके महिलाहरू गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सक्ने उल्लेख गर्नुभयो ।

साथै महिलाहरूले उत्पादन गरेका सामग्रीलाई बजारसम्म पुर्‍याउन यातायात सेवाको व्यवस्था गर्ने योजना रहेको जानकारी दिनुभयो ।

सामूहिक सरोकार समाज सिन्धुलीकी अध्यक्ष रमिता मानन्धरले आर्थिक रूपमा कमजोर, एकल, दलित तथा सीमान्तकृत महिलालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार क्रिस्टल गहना निर्माणसम्बन्धी सीपले महिलाहरूलाई घरमै बसेर आयआर्जन गर्ने अवसर प्रदान गर्नेछ ।

कार्यक्रम संयोजक नवराज पहाडीका अनुसार तालिममा वडा नं. ७ का १२ जना र वडा नं. ८ का १३ जना गरी २५ जना महिलाको सहभागिता रहेको छ ।

उहाँले तालिमपछि सहभागी प्रत्येक महिलालाई व्यवसाय सुरु गर्न २६ हजार रुपियाँसम्म सहयोग उपलब्ध गराइने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका लेखा प्रमुख अरुण रुपाखेतीले यस्ता तालिमले विपन्न महिलाको जीविकोपार्जन सुधारमा महत्वपूर्ण टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

सात दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण कल्पना सेन्चुरीले गर्नुहुनेछ ।

Author

Share the News

Recent News

Related News