मानव आवाज

२०८३ जेष्ठ २ गते
00: 00: 00
२०८३ जेष्ठ २ गते

पोखरा महानगरले साना तथा मझौला उद्योगलाई ५० प्रतिशत अनुदान दिने

पोखरा । पोखरा महानगरपालिका अन्तर्गत आर्थिक विकास महाशाखाको व्यवसाय प्रवर्द्धन केन्द्रले नगरभित्रका साना तथा मझौला उद्योगहरूको प्रवर्द्धनका लागि ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

“नवप्रवर्तनशील सोच, आत्मनिर्भर उद्यम र समृद्ध पोखरा” भन्ने नारासहित सञ्चालन गरिने उक्त कार्यक्रम आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत अघि बढाइएको हो ।

महानगरले २०८३ जेठ १ गते सूचना जारी गर्दै स्थानीय आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले निजी क्षेत्रसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ ।

सूचनाअनुसार दर्ता भएका साना तथा मझौला उद्योग, घरेलु तथा साना उद्योग, सञ्चालनमा रहेका कम्पनी, फर्म तथा सहकारी संस्था, स्टार्टअप उद्यम तथा उत्पादनमूलक एवम् सेवा क्षेत्रका औद्योगिक इकाइहरूलाई कार्यक्रममा प्राथमिकता दिइनेछ ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यवसायी वा समूहले निवेदनसहित उद्योग, फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, भ्याट वा पान दर्ता प्रमाणपत्र, प्रस्तावित कार्यक्रम तथा परियोजनाको विस्तृत विवरण, लागत अनुमान र कार्ययोजना, साझेदारी प्रतिबद्धतापत्र तथा गत आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने जनाइएको छ ।

महानगरपालिकाले यस कार्यक्रममार्फत स्थानीय उद्यमलाई प्रवर्धन गर्दै उत्पादन वृद्धि, रोजगारी विस्तार तथा आर्थिक गतिविधि सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ ।

Author

Share the News

Recent News

Related News