ललितपुर । कोन्ज्योसोम गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजा उत्साहजनक देखिएको छ ।
गाउँपालिकाका अनुसार साधारण धारतर्फ सहभागी अधिकांश विद्यार्थीले न्यूनतम जिपिए हासिल गर्दै सफल भएका छन् ।
गाउँपालिकाभित्र रहेका ६ ओटा माध्यमिक विद्यालयबाट कुल १ सय ४७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १ सय २१ जना विद्यार्थीले न्यूनतम जिपिए प्राप्त गरेका छन् । यो कुल सहभागीको करिब ८२ प्रतिशत हो ।
नतिजाअनुसार शङ्खुका मगरगाउँ माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय तथा चौघरेको बाघभैरव माध्यमिक विद्यालयले शतप्रतिशत सफलता हासिल गरेका छन् । ती विद्यालयबाट सहभागी सबै विद्यार्थीले न्यूनतम जिपिए प्राप्त गर्न सफल भएका हुन् ।
गाउँपालिकाले यस उपलब्धिलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारतर्फको सकारात्मक सङ्केतका रूपमा लिएको जनाएको छ ।
उत्कृष्ट नतिजाका लागि गाउँपालिकाले विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, शिक्षक-कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न सम्पूर्ण सरोकारवालाप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ ।