पोखरा । विदेशमा सात वर्ष बिताएपछि स्वदेश फर्किएका एक युवाले कृषि पेशामै भविष्य देख्नुभएको छ ।
पर्वत जिल्ला फलेवास नगरपालिका-९ भगेरा निवासी ३१ वर्षीय रमेश पौडेल यतिबेला पोखरा महानगरपालिका–२१ नाउडीमा व्यावसायिक कृषि कर्ममा हुनुहुन्छ ।
गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय सहर पोखरास्थित डेभिड फल नजिक, सिद्धार्थ राजमार्ग आसपास उहाँले आठ वर्षदेखि कृषि व्यवसाय सञ्चालन गर्दै आउनुभएको हो ।
पौडेलले १० वर्षका लागि भाडामा लिनुभएको २९ रोपनी जग्गामा गाई, भैँसी र पाडापाडी गरी २६ ओटा चौपाया पाल्नुभएको छ ।
बिहान उठ्नेबित्तिकै गोठमा पुगेर पशुसँग समय बिताउनु उहाँको दैनिक दैनिकी हो । “यी चौपायाहरू नै मेरो खुशीका आधार हुन् ।”-उहाँ भन्नुहुन्छ ।
उहाँका अनुसार कृषि पेशा रोज्नुको मुख्य प्रेरणा विदेश बसाइ नै हो । सात वर्ष साउदी अरबमा काम गरेपछि स्वदेशमै केही गर्ने सोचका साथ उहाँले कृषि व्यवसाय सुरु गर्नुभएको थियो । अहिले यही पेशा उहाँको आम्दानीको प्रमुख स्रोत बनेको छ ।
पौडेलको फर्मबाट दैनिक करिब १ सय ४० लिटर दुध उत्पादन हुन्छ भने मासिक आम्दानी करिब ६ लाख रुपियाँ पुग्ने गरेको छ । यस कार्यमा उहाँकी पत्नी लक्ष्मी पौडेल क्षेत्रीले पनि उत्तिकै साथ दिनुभएको छ ।
उहाँ अर्गानिक कृषि प्रणालीमा विश्वास गर्नुहुन्छ । पशुको मल, घरबाट निस्कने जैविक फोहोर र आफ्नै हातले तयार पारिएको जैविक विषादी प्रयोग गरेर उहाँले तरकारी उत्पादन गर्दै आउनुभएको छ । उहाँको बारीमा गोलभेँडा, साग, धनियाँ, खुर्सानी, काउली र बन्दा जस्ता तरकारी सहजै फलिरहेका छन् ।
“आफ्नै माटोमा मेहनत गरे विदेश जानु पर्दैन ।”-उहाँ भन्नुहुन्छ-“कामप्रति सम्मान र लगनशीलता भए आम्दानीका स्रोत यहीँ भेटिन्छन् ।”
पौडेलका अनुसार उहाँले अहिलेसम्म कुनै सरकारी अनुदान वा सहयोग नलिई आफ्नै लगानीमा कृषि व्यवसाय सञ्चालन गर्नुभएको हो ।
नेपालमा कानुनी जटिलता र प्रक्रियागत झन्झटले व्यवसाय सञ्चालनमा चुनौती थपिएको उहाँको अनुभव छ ।
उहाँ शहरी क्षेत्रमा कृषि विस्तार, फोहोर व्यवस्थापन र अर्गानिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ ।
“घरमै भए पनि अर्गानिक तरकारी उत्पादन गर्नुपर्छ, यसले स्वास्थ्य र खर्च दुवैमा फाइदा गर्छ ।”-उहाँको भनाइ छ ।
पौडेलको निष्कर्ष छ-“कृषि पेशालाई व्यावसायिक र वैज्ञानिक ढङ्गले अघि बढाउन सके मात्र आजको समयमा आर्थिक उपलब्धि हासिल गर्न सकिन्छ ।”