पोखरा । मानवसेवा आश्रम कास्कीको आयोजनामा निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि २०८३ वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ २०८३” आयोजना हुने भएको छ ।
पोखरामा २०८३ वैशाख १६ गते आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले महायज्ञको मुख्य उद्देश्य निर्माणाधीन भवन पूरा गर्नु, लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण गर्नु तथा अक्षयकोष वृद्धि गरी दीगो सेवा सञ्चालन सुनिश्चित गर्नु रहेको बताउनुभयो ।
उहाँका अनुसार २०६९ सालमा हेटौँडाबाट सुरु भएको आश्रम हाल देशभर २९ सेवा केन्द्रमार्फत करिब २ हजार सहयोगापेक्षी मानवहरूको संरक्षणमा सक्रिय रहेको बताउनु भयो ।
कास्की जिल्लाको पोखरा महानगरपालिकामा दुई शाखाहरू पोखरा महानगरपालिका-२५ हेम्जा र पोखरा महानगरपालिका-१७ छोरेपाटनमात्र हाल २ सय ७५ जना आश्रित रहेका छन्, जसका लागि मासिक करिब ४० लाख रुपियाँ खर्च हुने गरेको अधिकारीले जानकारी दिनु भयो ।
हेम्जास्थित भवन निर्माणमा हालसम्म करिब ८ करोड रुपियाँ खर्च भइसकेको र कार्य सम्पन्न गर्न थप २ करोड रुपियाँ आवश्यक रहेको बताइएको छ ।
बढ्दो उद्धार कार्य र आश्रितहरूको सङ्ख्या वृद्धिसँगै सेवा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले अक्षयकोषलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
महायज्ञ अवधिभर धार्मिक प्रवचन, योग शिविर, निःशुल्क स्वास्थ्य सेवा, युवा लक्षित उत्प्रेरणात्मक कार्यक्रम तथा राष्ट्रिय-स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति लगायत कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
महायज्ञ सफल बनाउन सामाजिक अभियान्ता अनिलकुमार शाहीको संयोजकत्वमा तथा धर्मराज बास्तोला सहसंयोजक रहनुभएको १ हजार १ सदस्यीय समिति गठन गरिएको मिडिया संयोजक सुष्मा पौडेलले जानकारी दिनु भयो ।
आश्रमले आयोजना गर्न लागेको यो चौधौँ महायज्ञ रहेको छ । यसअघि २०७९ सालमा महायज्ञ आयोजना गरी भवन निर्माण कार्य सुरु गरेको थियो । यसपटकको महायज्ञलाई निर्माण सम्पन्न गर्ने महत्वपूर्ण अभियानका रूपमा लिइएको छ ।
मानवसेवा आश्रमले सम्पूर्ण मानवताप्रेमी, दाताहरू तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई सहयोग गर्न अपिल गरेको छ ।