मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

‘जेन्जी कप’ खेलकुद प्रतियोगिता सम्पन्न

रुद्रबहादुर खड्का, सिन्धुली

घ्याङलेख गाउँपालिकामा युवाहरूको सक्रियतामा आयोजित प्रथम ‘जेन्जी कप’ खेलकुद प्रतियोगिता २०८३ वैशाख ३ गते सम्पन्न भएको छ ।

प्रतियोगिताअन्तर्गत फुटबलतर्फ घ्याङलेख गाउँपालिका-३ तामाजोरको तेरी एफसी विजेता बनेको छ भने भलिबलतर्फ वडा नम्बर-२ हायूटारको हायूटार युवा क्लबले उपाधि जितेको छ ।

फुटबलको फाइनल खेलमा तेरी एफसीले वडा नम्बर-४ को जिएफसी गोपे समूहलाई पेनाल्टी सुटआउटमा ६–५ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमार्फत विजेता टुङ्गो लगाइएको थियो ।

त्यस्तै, भलिबलको फाइनलमा हायूटार युवा क्लबले सर्लाहीको टोलीलाई पराजित गर्दै उपाधि जित्न सफल भयो ।

फुटबलतर्फ विजेता तेरी एफसीले नगद ४० हजार रुपियाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता जिएफसी गोपे समूहले नगद ३० हजार रुपियाँसहित शिल्ड र मेडल पाएको छ ।

भलिबलतर्फ विजेता हायूटार युवा क्लबले नगद ३० हजार रुपियाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता सर्लाहीको टोलीले नगद २० हजार रुपियाँसहित शिल्ड र मेडल हात पारेको छ ।

नयाँ वर्ष २०८३ को अवसरमा प्रगतिशील युवा समाज, घ्याङलेख गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो ।

समाजका अध्यक्ष छिरिङदोर्जे लामाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शङ्करमान घलानले विजेता टोली तथा खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष घलानले गाउँको विकासमा युवाहरूको सक्रियता र समन्वय आवश्यक रहेको बताउँदै प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले खेलकुद विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयस्तरदेखि नै खेलकुद र शिक्षाको गुणस्तर अभिवृद्धिका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

Author

Related News