पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा मन्त्रीहरूलाई सपथ गराउनुभएको हो ।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारमा दुवै दलका तर्फबाट ४-४ जना मन्त्री समावेश भएका छन् ।
गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त हुनुभएको छ ।

यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्य, भीमबहादुर कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्नुभएको छ ।
जित शेरचन आर्थिक मामिला मन्त्री नियुक्त हुनुभएको छ भने नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभएको छ।
नम्डु गुरुङ वन तथा वातावरण, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा नियुक्त हुनुभएको छ ।

यसैबिच, मन्त्री पद नपाएपछि नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिनुभएको छ ।
बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले २०८३ वैशाख २ गते सभामुखलाई सम्बोधन गर्दै राजीनामा बुझाउनुभएको हो ।
राजीनामा पत्रमा उहाँले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गर्नुभएको छ ।
