रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुली जिल्लामा पहिलो पटक मरिण गाउँपालिका-६ भुताहाका किसानहरूले मकैको ‘रामपुर हाईब्रिड-१०’ (वर्णशङ्कर) जातको बिउ उत्पादन सुरु गरेका छन् ।
वडा नं. ६ का वडाध्यक्ष हर्कवीर माझीका अनुसार यो पहल जिल्लामै नयाँ अभ्यासका रूपमा सुरु गरिएको हो ।
यस वर्ष कृषि विकास कार्यालय सिन्धुलीको सहयोगमा भुताहास्थित कपिलाकोट साना किसान कृषि सहकारी संस्थामा आबद्ध १६ जना किसानहरूले उक्त बिउ उत्पादन थालेका हुन् ।
परीक्षणका रूपमा सुरु गरिएको यो कार्यक्रम सफल बन्दै गएपछि स्थानीय किसानहरू उत्साहित भएका छन् ।
मकैको बिउ उत्पादनबाट राम्रो आम्दानी हुने र थोरै जमिनबाट पनि बढी फाइदा लिन सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका छन् ।
यस कार्यक्रममा संलग्न किसान अर्जुनबहादुर गुर्मछान मगरले प्राविधिकहरूको निरन्तर सहयोगमा काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार प्राविधिक सल्लाहअनुसार खेती गर्दा उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ ।
उत्पादित बिउको बजारीकरणका लागि मुक्तिनाथ कृषि कम्पनीसँग सम्झौता भएको छ । सम्झौताअनुसार घोगासहितको (भाँचेर ३-४ दिन सुकाइएको) बिउ प्रतिकेजी १ सय १५ रुपियाँ र दाना (छडाएको) बिउ प्रतिकेजी १ सय ६० रुपियाँमा खरिद गरिनेछ ।
हाल किसानहरूले करिब १० बिगाहा जमिनमा उक्त जातको मकैको बिउ उत्पादन गरिरहेका छन् । कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीका अनुसार यस कार्यक्रमका लागि राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम, रामपुर चितवन (नार्क) र मरिण गाउँपालिकाको साझेदारी रहेको छ ।
नार्कले किसानहरूलाई भाले र पोथी बिउसहित प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराएको छ भने कृषि विकास कार्यालयले थप प्राविधिक सहयोग, विषादी, रासायनिक मलको सुनिश्चितता लगायतका सहयोग उपलब्ध गराइरहेको छ ।
कार्यालयले मरिण गाउँपालिकालाई धान तथा मकैको बिउ उत्पादन क्षेत्र घोषणा गरी सोहीअनुसार कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
यसैबिच, २०८३ वैशाख १ गते राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर, चितवन तथा बागमती प्रदेश बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हेटौंडाका प्रमुख तथा वैज्ञानिकहरूको टोलीले भुताहामा स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । टोलीले किसानहरूलाई आवश्यक सल्लाह र सुझाव पनि दिएको छ ।
राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर, चितवनका प्रमुख तिर्थराज रिजालका अनुसार गत वर्ष सिन्धुलीकै हरिहरपुरगढी गाउँपालिकामा गरिएको परीक्षण सफल भएपछि मरिण गाउँपालिकामा यो कार्यक्रम विस्तार गरिएको हो ।
उहाँले ‘रामपुर हाईब्रिड-१०’ जातको बिउ अत्यधिक लोकप्रिय रहेको र नेपालका तीन ओटै सिजनमा यसको माग उच्च रहेको बताउनुभयो ।
उहाँका अनुसार यो जातको मकैले बढी तापक्रम पनि सहन सक्छ र विभिन्न सिजनमा उत्पादन गर्न सकिन्छ, जसले मध्य पहाडी क्षेत्रमा यसको उत्पादन राम्रो हुने देखिएको छ ।
बागमती प्रदेश बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख राजन ढकालले प्रारम्भिक परीक्षणको नतिजा उत्साहजनक रहेको बताउनुभयो ।
उहाँले प्राविधिक निगरानीमा गुणस्तरीय बिउ उत्पादन भइरहेको उल्लेख गर्दै यसबाट किसानलाई आर्थिक लाभ हुने र बिउ आयातमा हुने खर्चसमेत घट्ने बताउनुभयो ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले यस कार्यक्रमले स्थानीय कृषिमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
उहाँले आगामी वर्षहरूमा सिँचाइ, मल तथा बिउ उत्पादनमुखी कार्यक्रमलाई थप सुदृढ गर्दै विशेष गरी विपन्न वर्गलाई लक्षित गरी मकै बिउ उत्पादनलाई प्राथमिकता दिने योजना रहेको जानकारी दिनुभयो ।