मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

सिन्धुलीमा तीन दिने राष्ट्रिय कला महोत्सव सुरु

रुद्रबहादुर खड्का, सिन्धुली

कमलामाई नगरपालिका-३, जलकन्या चपौलीमा तीन दिने कला महोत्सव सुरु भएको छ । कलाघरद्वारा आयोजित उक्त महोत्सव २०८३ वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले गर्नुभयो ।

उद्घाटनका अवसरमा उहाँले कला र संस्कृतिको संरक्षण तथा विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“कला र संस्कृति जगेर्ना गर्न सबैको सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो, “गीत, संगीत र कलामार्फत प्रदेशको विकास गर्ने महत्वपूर्ण अवसर पनि यही हो ।”

उहाँले लोपोन्मुख जातीय भाषा, संस्कृति तथा मौलिक बाजागाजाको संरक्षणका लागि यस्ता महोत्सव आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठले मादल बजाएर उद्घाटन गर्नुभएको थियो ।

कलाघरका अध्यक्ष सुमन थापामगरले संस्थाको दीर्घकालीन योजना प्रस्तुत गर्दै विश्वका १ सय ९५ देशलाई कलामार्फत जोड्दै ‘वर्ल्ड आर्ट हाउस’को रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । “यो लक्ष्य हासिल गर्न हामी निरन्तर खटिरहेका छौँ,” उहाँले भन्नुभयो ।

उपाध्यक्ष पवित्रा रम्तेलका अनुसार उक्त योजना सफल बनाउन कलाकारहरू केवल सिर्जनशील मात्र नभई श्रमिकसरह अहोरात्र खटिरहेका छन्, जसलाई आम नागरिकले प्रत्यक्ष देख्न सक्ने अवस्था छ ।

“ऐतिहासिक सिन्धुलीगढीसँगै सिन्धुली कलाघर घुम्न जाऔँ, राष्ट्रिय कला महोत्सवमा रमाऔँ” भन्ने मूल नारासहित सञ्चालन भइरहेको महोत्सव नेपाली मौलिक कला संस्कृतिको प्रचार तथा आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

महोत्सवमा परम्परागत खेलकुद, मौलिक झाँकी, लोकनृत्य तथा लोकबाजाको प्रदर्शन गरिनेछ । साथै चित्रकला, मूर्तिकला र हस्तकलाका प्रदर्शनीहरू पनि राखिएका छन् ।

लागुपदार्थ दुर्व्यसन, महिला हिंसा, सरसफाइलगायत समसामयिक विषयमा आधारित नाटकहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, देशका विभिन्न जिल्लाबाट आएका कलाकार, जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

महोत्सवको अवसरमा सिन्धुली कलाघरमा नवनिर्मित २ सय जना अट्ने ‘मादल घर’ (हल) पनि अवलोकनका लागि खुला गरिएको छ ।

देशभरबाट आएका मादल वादक तथा कलाकारहरूको सहभागिताले महोत्सव अझ आकर्षक बनेको आयोजकको भनाइ छ ।

यस महोत्सवले सिन्धुली जिल्लाको कला तथा संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउँदै जिल्लाको पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Author

Related News