मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

रात्रिकालीन सडक दौड सफलतापूर्वक सम्पन्न, ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह

पोखरा । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित पोखरामा पहिलोपटक आयोजित रात्रिकालीन सडक दौड सफलतापूर्वक सम्पन्न भएको छ ।

पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा २०८२ चैत २८ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका-६ स्थित फेवातालको वाराहीघाटदेखि वडा नं. ९ को मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्म ५ किलोमिटर दूरीमा भएको दौडमा सहभागी धावकहरू उत्साहित देखिएका थिए ।

कार्यक्रम संयोजक तथा पत्रकार दीननाथ बरालले पहिलो प्रयासमै सबैको साथ र सहयोगले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले खेल प्रवर्धनसँगै पर्यटकीय राजधानी पोखरा सुरक्षित रहेको सन्देश दिन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

रातिको समयमा प्रकाश व्यवस्थासहित सम्पन्न उक्त दौडले पोखराको सुरक्षाबारे सकारात्मक सन्देश प्रवाह गरेको भन्दै पर्यटन व्यवसायीहरू समेत उत्साहित बनेका छन् ।

दौडमा खुला, महिला, विदेशी तथा यू-१६ गरी चार विधामा प्रतिस्पर्धा गराइएको थियो । साँझ ७:३० बजे वाराहीघाटबाट सुरु भएको दौडमा विदेशी पर्यटकसहित करिब एक सयभन्दा बढी धावकहरूको सहभागिता रहेको थियो ।

दौड लेकसाइडको सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक र न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) पुगेर सम्पन्न भएको हो ।

प्रतियोगिताको खुलातर्फ मुकेश थापा प्रथम हुनुभयो । उहाँले ५ किलोमिटर दूरी १७ मिनेट ३१.६७ सेकेन्डमा पूरा गर्नुभयो ।

सुवास गुरुङ १७ मिनेट ५४.२५ सेकेन्डसहित दोस्रो र अकलबहादुर पाल १८ मिनेट ०२.०३ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थानमा रहनुभयो ।

विजेताले १५ हजार रुपियाँ, उपविजेताले १० हजार रुपियाँ र तेस्रो स्थान हासिल गर्नेले ५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

महिलातर्फ पुष्पा शर्मा लिम्बु २३ मिनेट ०३.५४ सेकेन्डमा दूरी पार गर्दै प्रथम हुनुभयो । यू–१६ तर्फ राम ढुङ्गाना विजेता बने भने विदेशी धावकतर्फ फ्रान्सका सामुएल प्रथम हुनुभयो ।

राम ढुङ्गानाले २४ मिनेट ३९.६० सेकेन्ड र सामुएलले २२ मिनेट ०८.०७ सेकेन्डमा दौड पूरा गर्नुभएको थियो ।

अन्य विधाका विजेतालाई जनही ७ हजार रुपियाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

Author

Related News