पोखरा । “पर्यटन, संस्कृति र खाना” भन्ने नारासहित २१औँ संस्करणको फेवा नववर्ष महोत्सव-२०८३ पोखराको लेकसाइड क्षेत्रमा सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धन तथा होटल सङ्घ पोखरा नेपालको आयोजनामा तीन दिने महोत्सव सञ्चालनमा आएको हो ।
२०८२ चैत २९ गतेदेखि सुरु भएको महोत्सवको उद्घाटन कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले औपचारिक कार्यक्रमबिच गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रजिअ शर्माले पोखरा देशकै पर्यटकीय राजधानीका रूपमा परिचित रहेको उल्लेख गर्दै ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विविधताले सम्पन्न सुन्दर शहर भएको बताउनुभयो । उहाँले यस सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएकोमा जोड दिनुभयो ।
उहाँका अनुसार फेवा नववर्ष महोत्सव जस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै, पर्यटन, संस्कृति र खानालाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवले लोप हुन लागेका सांस्कृतिक पर्व, बाजा, परम्परागत गीत तथा नृत्यको संरक्षणमा टेवा पुर्याउने बताउनुभयो ।
कार्यक्रममा होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै पर्यटन प्रवर्धनमा स्थानीयवासीको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभयो ।
महोत्सव संयोजक तथा होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार लेकसाइडको करिब तीन किलोमिटर क्षेत्रमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् ।
उहाँले महोत्सवका मुख्य आकर्षणहरूमा प्रदेशस्तरीय मौलिक तथा रैथाने खानाको प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता तथा पर्यटक दौड प्रतियोगिता रहेको जानकारी दिनुभयो ।
त्यसैगरी, महोत्सव अवधिभर सातै प्रदेशका सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ । उद्घाटनअघि विभिन्न आमा समूह, टोल विकास समिति तथा सङ्घसंस्थाहरूले बाजागाजा र सांस्कृतिक झाँकीसहित खहरेचोकदेखि कार्यक्रम स्थलसम्म र्याली निकालेका थिए ।
लक्ष्मण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव पार्वता पाण्डेले सञ्चालन गर्नुभएको थियो ।
महोत्सव २०८२ चैत २९ गतेदेखि सुरु भई २०८३ वैशाख १ गतेसम्म सञ्चालन हुनेछ । सडकमै आयोजना गरिएको महोत्सवमा प्रवेश शुल्कको व्यवस्था नगरिएको सङ्घका पूर्व अध्यक्ष हरिप्रसाद शर्मा गैरेले जानकारी दिनुभयो ।