ललितपुर । बागमती गाउँपालिका-६, आश्राङ निवासी सिर्जना घिमिरेले आफ्ना पाँच वर्षीय छोरा सौहार्द सञ्जेलको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।
हाल गम्भीर स्वास्थ्य समस्याबाट पीडित सौहार्दको त्रिविवि शिक्षण अस्पतालको निगरानीमा नियमित उपचार भइरहेको छ ।
सिर्जनाका अनुसार अप्रेसनका बेला अस्पताल भर्ना हुनुपर्ने भएपनि अहिले नियमित फलोअपमा आउजाउ भइरहेको छ ।
चिकित्सक तथा अस्पतालको सल्लाहअनुसार सौहार्द जन्मजात दुबै कान नसुन्ने (श्रवणशक्ति गुमेको) अवस्थामा रहेको सिर्जनाले बताउनु भयो ।
सुनाइ सक्षम बनाउनका लागि ‘हियरिङ एड’ जडान गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । उक्त उपचार तथा उपकरण जडानका लागि करिब १२ देखि १४ लाख रुपियाँसम्म खर्च लाग्ने जानकारी प्राप्त भएको छ, जुन रकम जुटाउन परिवारको आर्थिक अवस्था कमजोर भएकोले कठिनाइ भइरहेको छ ।
त्यसैले स्वदेश तथा विदेशमा रहनुभएका सहयोगीहरूमा बालक सौहार्दको जीवनमा आशाको किरण जगाउन सक्दो आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गरिएको छ । तपाइँको सानो सहयोगले पनि एउटा बालकको भविष्य उज्यालो बनाउन सक्छ ।