पोखरा । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स सङ्घको समन्वयमा पोखरामा ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट-२०२६’ तथा ‘चौथो राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिप-२०२६’ आयोजना हुने भएको छ ।
२०८२ चैत २६ गते आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष गजबहादुर गुरुङले प्रतियोगिता २०८२ चैत २८ देखि ३० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । पोखरा ओपन एथलेटिक्स मिटतर्फ देशभरबाट करिब ३ सय खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरूसँगै नेपाल आर्मी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विभागीय टोलीका खेलाडीहरू सहभागी हुनेछन्, जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, राष्ट्रिय यू-२० एथलेटिक्स च्याम्पियनसिपमा सातै प्रदेशबाट १० पुरुष र १० महिला गरी १ सय ४० खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगिता संयोजक तथा सचिव सिद्धान्त अधिकारीका अनुसार ओपन एथलेटिक्स मिटतर्फ पुरुष र महिला गरी जम्मा ३० विधामा प्रतिस्पर्धा हुनेछ भने यू-२० च्याम्पियनसिपतर्फ पुरुष र महिला गरी २४ विधामा खेल सञ्चालन गरिनेछ ।