मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

कान्तिपुर ट्रेनिङ सेन्टरद्वारा ‘फ्लेयर मास्टर च्याम्पियनसिप’ आयोजना

पोखरा  । २०६० सालमा स्थापित कान्तिपुर होटल ट्रेनिङ सेन्टर, पोखरा-८ को आयोजनामा “पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप” हुने भएको छ ।

२०८२ चैत २५ गते आयोजित पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष विजय पौडेलले चैत २७ गते उक्त प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिता पोखरा महानगरपालिका-५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा आयोजना हुनेछ। प्रतियोगिता बिहान ७ बजेदेखि सुरु भई राति ९ बजेसम्म चार चरणमा सञ्चालन गरिनेछ ।

च्याम्पियनसिपमा एजुकेसन पार्टनरका रूपमा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज रहेको जानकारी दिइएको छ ।

अध्यक्ष पौडेलका अनुसार प्रतियोगिताले नेपाली बारटेन्डरहरूको कलात्मकता र प्राविधिक दक्षता उजागर गर्नुका साथै व्यावसायिक तालिमलाई अन्तर्राष्ट्रिय रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ ।

बारटेन्डिङ पेशामा पेय पदार्थ, विशेष गरी ककटेल र मकटेलमा स्वादको सन्तुलन (तितोपन, अमिलोपन र गुलियोपन) मिलाउँदै प्रस्तुत गर्ने कला तथा बोतल घुमाउने फ्लेयर सीप प्रदर्शन गरिन्छ ।

प्रतियोगितामा पहिलो हुनेले ४० हजार रुपियाँसहित प्याराग्लाइडिङ, ट्रफी, गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले २५ हजार रुपियाँसहित ट्रफी, गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै तृतीय र चतुर्थ हुनेले क्रमशः १५ हजार र ५ हजार रुपियाँसहित गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट ककटेलतर्फ ५ हजार रुपियाँसहित बन्जी जम्प, ट्रफी, गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट बोतल घुमाउने (फ्लेयर) कलाकारलाई पनि ५ हजार रुपियाँसहित ट्रफी, गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र दिइनेछ । अन्य सहभागीलाई मायाको चिनो र सहभागिता प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

एजुकेसन पार्टनर कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले अस्ट्रेलियन सरकारबाट मान्यता प्राप्त दुई वर्षे होटल म्यानेजमेन्ट तथा ६ महिने कुलिनरी आर्ट्स (पाककला) कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

उक्त कलेजका प्रशिक्षार्थीहरू विदेशका पाँचतारे होटल तथा बार–रेस्टुरेन्टमा बारमेनका रूपमा कार्यरत रहेको उहाँको भनाइ छ ।

कार्यक्रम संयोजक निश्चल देवकोटाका अनुसार प्रतियोगितामा सहभागिताका लागि काठमाडौँ, बुटवल, चितवन, इटहरी र पोखरा लगायत विभिन्न शहरबाट ६७ जनाले प्रारम्भिक प्रतिस्पर्धा गरेका थिए । तीमध्येबाट ३७ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।

कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख पुकार ज्ञवालीले गर्नुभएको थियो ।

Author

Related News