मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

धापाखेलमा श्रीमद्भागवत सप्ताह, ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिने

ललितपुर । ललितपुर महानगरपालिका-२३ धापाखेलमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्ने पवित्र उद्देश्यसहित स्वर्णिम श्रीमद्भागवत सप्ताह भक्ति अनुष्ठान आयोजना गरिने भएको छ ।

स्थानीय टोल सुधार समिति, महिला समूह तथा विभिन्न संघसंस्थाहरूको संयुक्त पहलमा सञ्चालन हुन लागेको यस महायज्ञ आगामी चैत्र २६ गतेदेखि प्रारम्भ भई वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजकका अनुसार बढ्दो शहरी व्यस्तता र परिवारबाट दिनभर आवश्यक हेरचाह नपाइरहेका ज्येष्ठ नागरिकहरूको सेवा तथा संरक्षणका लागि यस्तो धार्मिक अभियान अघि बढाइएको हो ।

अनुष्ठानमार्फत संकलित आर्थिक सहयोग ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना तथा सञ्चालनमा खर्च गरिने बताइएको छ ।

२०८२ चैत २४ गते आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको कार्यक्रमअनुसार अनुष्ठान धापाखेलस्थित वडा कार्यालय परिसरमा सञ्चालन हुनेछ ।

अनुष्ठानमा प्रसिद्ध कथाव्यास आचार्य ओमप्रकाश सुवेदीद्वारा श्रीमद्भागवत कथा वाचन गरिनेछ भने मुमुक्षु उद्धव शर्मा हुमागाईं सङ्कल्पकर्ताका रूपमा रहनुहुनेछ ।

कार्यक्रमअन्तर्गत प्रत्येक दिन बिहान ७ बजे पूजा, ८ बजेदेखि पाठपारायण तथा ११ बजेदेखि साँझ ६ बजेसम्म कथा वाचन हुनेछ ।

साथै दैनिक रूपमा दिव्य झाँकी प्रदर्शन र भक्ति संगीत प्रस्तुत गरिने संयोजक देवकी शर्माले जानकारी दिनुभयो ।

अनुष्ठानको पहिलो दिन भव्य कलश यात्रा निकालिनेछ भने समापनका दिन लक्ष्यदीप प्रज्वलन, सामूहिक व्रतबन्ध, विवाह, ग्रहशान्ति, तुलादान तथा १००८ शालिग्राम पूजाअर्चना जस्ता विविध धार्मिक कार्यक्रम आयोजना गरिनेछन् ।

सङ्कल्पकर्ता हुमागाईंले श्रीमद्भागवत लगायतका पुराण श्रवणले आत्मिक शान्ति, आन्तरिक सन्तुलन तथा जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ ।

वडा नं. २३ का अध्यक्ष जीवन महर्जनले पनि वडावासी तथा सम्पूर्ण श्रद्धालुहरूलाई महायज्ञ सफल बनाउन सहयोग गर्न आह्वान गर्दै यसले धापाखेल क्षेत्रको धार्मिक तथा सामाजिक पहिचान विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

Author

Related News