पोखरा । पोखरा महानगरपालिका-५ नं वडा कार्यालयको आयोजना तथा माइन फ्रेस चेस क्लब पोखराको समन्वयमा दुईदिने प्रथम वडा अध्यक्ष बुद्धिचाल प्रतियोगिता २०८२ चैत २२ गतेदेखि श्री धर्मस्थली आधारभूत विद्यालय, पोखरा-५ प्रस्याङमा सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष विष्णुप्रसाद बरालले विद्यालयस्तरमा सञ्चालन हुने यस्ता खेलकुद गतिविधिले बालबालिकाको सर्वाङ्गीण विकासमा सकारात्मक ऊर्जा थप्ने बताउनुभयो ।
उहाँले यस्ता प्रतियोगिताले बालबालिकामा नेतृत्व क्षमता, अनुशासन र सकारात्मक आचरण विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य गोविन्दप्रसाद पराजुली, माइन फ्रेस चेस क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक युवराज भण्डारी र धर्मस्थली आधारभूत विद्यालयकी प्रधानाध्यापक सुभद्रा गौतमले शुभकामना मन्तव्य राख्दै खेलकुदको महत्वबारे धारणा व्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा पोखरा महानगरपालिका-५ सहित अन्य वडाका सामुदायिक तथा संस्थागत विद्यालयका २४ विद्यालयबाट ८८ जना छात्रछात्राको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः ५ हजार रुपियाँ, ३ हजार रुपियाँ, २ हजार रुपियाँ र १ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । छात्रातर्फ उत्कृष्ट हुनेलाई ३ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा रामबहादुर क्षेत्री, युवराज भण्डारी, सञ्जय भण्डारी र वर्षा भुगाई लगायत रहनु भएको छ ।