पोखरा । होटल सङ्घ पोखरा नेपालको आयोजनामा नेपाली नयाँ वर्षको अवसर पारेर ‘पर्यटन, संस्कृति र खाना’ नारासहित २१औँ फेवा नव वर्ष महोत्सव आयोजना हुने भएको छ ।
पोखरामा २०८२ चैत १९ गते आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवबारे जानकारी दिएको हो ।
महोत्सव २०८२ चैत २९ गतेदेखि २०८३ वैशाख १ गतेसम्म फेवाताल किनारको पर्यटकीय क्षेत्र ड्यामसाइडदेखि हल्लनचोकसम्मको करिब तीन किलोमिटर सडक क्षेत्रमा सञ्चालन गरिनेछ ।
होटल सङ्घ पोखरा नेपालका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीका अनुसार महोत्सवलाई भव्य बनाउन आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको छ ।
उहाँले महोत्सवको मुख्य उद्देश्य नेपाली मौलिक संस्कृति संरक्षण तथा परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्नु रहेको बताउनुभयो ।
महोत्सवमा विविध सांस्कृतिक झाँकी, नृत्य, परम्परागत खानाका स्टल, पञ्चेबाजा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, लोकदोहोरी, पप कन्सर्ट तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति आकर्षणका रूपमा रहनेछन् ।
महोत्सव व्यवस्थापनका लागि २० ओटा उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।
सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनले महोत्सव अवधिभर आन्तरिक तथा बाह्य गरी करिब ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
साथै, होटल सङ्घ पोखराअन्तर्गतका होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने बताइएको छ ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणि लामिछानेले विगत दुई दशकदेखि नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको यस महोत्सवले नेपाली संस्कृति संरक्षण र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो ।
त्यसैगरी, होटल सङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरिप्रसाद शर्मा गैरेले महोत्सवमार्फत समग्र देशकै आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।