ललितपुर । जबाफदेहिता निगरानी समितिले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाउँदै उक्त प्रतिवेदनको प्रतिलिपि उपलब्ध गराउन अनुरोध गरेको हो ।
समितिका अनुसार भदौ २३-२४, २०८२ मा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।
उक्त आयोगको कार्यादेश, कामकारबाही तथा प्रतिवेदन सार्वजनिक चासो र सरोकारको विषय भएको समितिको भनाइ छ ।
समितिले आयोगले तयार पारेको प्रतिवेदन २४ फागुन २०८२ मा प्रधानमन्त्रीसमक्ष पेश गरिसकेको उल्लेख गर्दै त्यसलाई सार्वजनिक गरिनुपर्ने माग गरेको छ ।
साथै, प्रतिवेदन सार्वजनिक नहुँदा नागरिकमा सूचना अभाव भएको र सरोकारवालाहरूमा अन्योलता बढेको जनाएको छ ।
पत्रमा समितिले प्रतिवेदन सार्वजनिक नहुँदा जेनजी आन्दोलनसँग सम्बन्धित अभियन्ता, पीडित परिवार तथा अन्य सरोकारवालाहरूले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनीसमेत दिएको छ ।
समितिले विगत दुई दशकदेखि मानवअधिकारको संरक्षण, प्रवर्धन तथा कानुनी शासनको सुदृढीकरणका लागि काम गर्दै आएको उल्लेख गर्दै सार्वजनिक सरोकारका विषयमा पारदर्शिता कायम गर्न सरकारलाई आग्रह गरेको छ ।


