मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री वितरण, २२ जना लाभान्वित

पोखरा । स्वर्गीय आरुष सुवेदीको ४५औँ दिनको पुण्यतिथिको स्मृतिमा पोखरामा रहेका विपन्न तथा असहाय बालबालिकालाई खेलकुद सामग्री, शैक्षिक सामग्री (स्टेशनरी) तथा खाद्य सामग्री वितरण गरिएको छ ।

पोखरा महानगरपालिका-६, बैदामस्थित रेन्वो चिल्ड्रेन होममा आश्रित २२ जना बालबालिकालाई उक्त सामग्री प्रदान गरिएको हो ।

१० वर्षको कलिलो उमेरमा उपचारका क्रममा गत माघ २५ गते निधन भएका सुवेदीको सम्झनामा उनको परिवारद्वारा स्थापित ‘आरुष स्मृति सहयोग फाउण्डेसन’ मार्फत सहयोग हस्तान्तरण गरिएको हो ।

आरुषकी आमा सपना रेग्मी सुवेदीले छोराको सम्झनामा समाजमा रहेका विपन्न तथा असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

चिल्ड्रेन होमकी मुख्य सञ्चालिका गोमा ढकालले फाउण्डेसनले गरेको सहयोगले बालबालिकाको शिक्षामा ठूलो राहत पुगेको उल्लेख गर्दै आश्रममा परिवारबाट विमुख भएका ७ महिनादेखि २१ वर्षसम्मका २२ जना बालबालिका आश्रित रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापा, पृथ्वी यातायात सहकारी संस्थाका सचिव पुष्पराज पौडेल, लायन्स डिस्ट्रिक्ट ३२५ केका डिस्ट्रिक्ट संयोजक राधिका थापा, पृथ्वी राजमार्ग बस व्यवसायी कम्पनीका पूर्व सञ्चालक रमेशकुमार श्रेष्ठ, रामचन्द्र गिरी र अनिल थापा, लायन्स क्लब अफ पोखरा गोल्डेन फिस्टेल सिटीका सचिव अर्जुन अर्याल तथा चिल्ड्रेन होमका सञ्चालक कुसुम ढकाललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सहयोग वितरण कार्यक्रममा सुवेदी परिवारका सदस्यहरू, बालबालिका तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Author

Related News