मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

सिन्धुलीमा एसइई परीक्षार्थी सङ्ख्या घट्यो, ५६९ ले कमी

रुद्रबहादुर खड्का, सिन्धुली ।

सिन्धुली जिल्लाभर २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने परीक्षार्थी सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सिन्धुलीका अनुसार यस वर्ष ५ सय ६९ जना परीक्षार्थी कम भएका छन् ।

यस वर्ष एसइई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ । जिल्लाभरका १ सय २६ सामुदायिक र २६ संस्थागत गरी कुल १ सय ५२ विद्यालयबाट ५ हजार २ सय ३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । गत वर्ष भने ५ हजार ७ सय ७२ जना परीक्षार्थी सहभागी भएका थिए ।

इकाई प्रमुख मोहनबहादुर सुनुवारका अनुसार विद्यार्थीबिच बढ्दो कक्षा छाड्ने प्रवृत्ति, न्यून भर्ना दर लगायतका कारण परीक्षार्थी सङ्ख्या घटेको हो । विशेषगरी दुधौली नगरपालिकामा सबैभन्दा बढी २ सय ११ जना परीक्षार्थी घटेका छन् ।

यस वर्ष सहभागीमध्ये साधारण नियमिततर्फ ४ हजार ४ सय ६१ जना, प्राविधिक धारतर्फ २ सय ३१ जना, नयाँ ग्रेडवृद्धिका ५ सय ८ जना र २०७९ सालअघिका पुराना ग्रेडवृद्धितर्फ तीन जना रहेका छन् । कुल परीक्षार्थीमध्ये २ हजार ५ सय ६ जना छात्र र २ हजार ६ सय ९७ जना छात्रा छन् ।

गत वर्षको तथ्याङ्कअनुसार नियमिततर्फ ४ हजार ७ सय ६६ जना, प्राविधिकतर्फ १ सय ७६ जना, नयाँ ग्रेडवृद्धिका ८ सय ४ जना र पुराना ग्रेडवृद्धिका १७ जना सहभागी भएका थिए ।

यस वर्ष जिल्लाभर २७ ओटा परीक्षा केन्द्र तोकिएका छन् । प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि सदरमुकामस्थित कमला मावि, ढुङ्ग्रेबासलाई केन्द्र निर्धारण गरिएको छ । हाल जिल्लामा सात ओटा विद्यालयमा प्राविधिक धारको अध्ययन सञ्चालनमा रहेको छ ।

गत वर्षको नतिजाअनुसार साधारणतर्फ ७४.६२ प्रतिशत र प्राविधिकतर्फ ९६.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने समग्र उत्तीर्ण दर ७५.३८ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

Author

Related News