मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

प्याराग्लाइडिङ च्याम्पियनसिप-२०२६ को उपाधि भारत र चीनलाई

पोखरा नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप-२०२६ को उपाधि भारतका अक्षय कुमार र चीनका झाउ चेनले संयुक्त रूपमा हात पार्नु भएको छ ।

पोखरा महानगरपालिका-१८ सराङकोटबाट उडान भरी खपौदीस्थित निर्धारित लक्ष्य बिन्दु नजिक पुग्दै दुवैले समान अङ्क हासिल गरी पहिलो स्थान प्राप्त गर्नु भएको हो ।

नेपालका पवन परियार र अर्जुन जलारीले समान अङ्क प्राप्त गरे पनि प्रदर्शनका आधारमा परियार छैठौँ र जलारी सातौँ स्थानमा सीमित हुनु भयो ।

महिला एकलतर्फको एक्यूरेसी विधामा चीनकी कोङ सियाङ पहिलो हुनु भयो । पाँच राउण्डसम्मको प्रतिस्पर्धामा नेपालकी दुर्गामाया गुरुङ दोस्रो हुँदा भारतकी श्रेयशी तामाङ तेस्रो हुनु भयो । महिला तर्फ १० जना खेलाडीबिच प्रतिस्पर्धा भएको थियो ।

नेपालीतर्फ पुरुष विधामा पवन परियार र अर्जुन जलारी समान अङ्कसहित संयुक्त रूपमा पहिलो हुनु भयो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष खेमराज आचार्यका अनुसार उक्त प्रतियोगितामार्फत दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोटसमेत गरिएको छ ।

प्रतियोगिताको तेस्रो दिन प्रतिकूल मौसमका कारण खेल स्थगित गरिएको थियो । खेल संयोजक सुनिलबहादुर भट्टराईका अनुसार २०८२ चैत ६ गतेदेखि परेको वर्षा चैत ७ गतेसम्म जारी रहेपछि सो दिनका खेलहरू सञ्चालन हुन सकेनन् । यसअघि सम्पन्न दुई दिनको प्रदर्शनका आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

संस्थाका अध्यक्ष अनिल केसीका अनुसार पाँच राउण्डसम्म प्रतियोगिता सम्पन्न भए पनि त्यसपछि मौसम र हावाको अवस्थाले खेल प्रभावित भएको थियो ।

प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीन गरी पाँच देशका ६२ खेलाडी सहभागी थिए, जसमा ५२ पुरुष र १० महिला खेलाडी रहेका थिए ।

विजेता खेलाडीहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्ण, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई लगायतले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा पुरुष व्यक्तिगततर्फ विजेताले १ लाख ५० हजार रुपियाँ, उपविजेताले १ लाख रुपियाँ र तेस्रो भएकाले ५० हजार रुपियाँ प्राप्त गरे ।

समूहतर्फ विजेताले ७५ हजार रुपियाँ, उपविजेताले ५० हजार रुपियाँ र तेस्रो भएको टोलीले २५ हजार रुपियाँ पाए ।

महिलातर्फ विजेताले ७५ हजार रुपियाँ, उपविजेताले ५० हजार रुपियाँ र तेस्रो भएकाले २५ हजार रुपियाँहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

Author

Related News