मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

कास्कीमा मतगणना सम्पन्न, सिडिओ शर्माद्वारा धन्यवादज्ञापन

पोखरा । कास्की जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत तीन ओटै निर्वाचन क्षेत्रको मतगणना कार्य सकिएको छ ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत मतगणना कार्य सकिएको जानकारी गराउँदै निर्वाचन सफल बनाउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते कास्की जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै तीन ओटै निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया पनि सकिएको बताउनु भयो ।

शर्माले कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेर उक्त ऐतिहासिक जिम्मेवारी निर्वाह गर्न पाएकोमा गर्व महसुस भएको उल्लेख गर्नु भएको छ ।

निर्वाचन सफल बनाउन सबै पक्षबाट भएको सहयोग, समन्वय, सहकार्य र समर्पण प्रशंसनीय रहेको उहाँको भनाइ छ ।

शर्माले निर्वाचन व्यवस्थापनमा सहयोग गर्ने गृह मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्व, कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीको टोली, चार ओटै सुरक्षा निकायका सुरक्षाकर्मी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू, प्रदेश निर्वाचन कार्यालय, राष्ट्रसेवक कर्मचारी, प्रदेश तथा स्थानीय तहका पदाधिकारीप्रति आभार व्यक्त गर्नु भएको छ ।

त्यस्तै राजनीतिक दल, उम्मेदवार, शिक्षण संस्था, निजी क्षेत्र, विभिन्न सङ्घसंस्था, नागरिक समाज, सञ्चार माध्यम र जिल्लाबासी नागरिकहरूको जिम्मेवारीबोध पनि उदाहरणीय रहेको भन्दै उहाँले सबैप्रति कृतज्ञता प्रकट गर्नु भएको छ ।

Author

Related News