मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुरका तीन क्षेत्र चार पार्टी प्रतिस्पर्धामा,कसले मार्ला बाजी ?

ललितपुर । प्रतिनिधिसभा निर्वाचन-२०८२ अन्तर्गत ललितपुरका तीनै निर्वाचन क्षेत्रमा फरकफरक प्रतिस्पर्धा देखिएको छ ।

कतै त्रिपक्षीय भिडन्त त कतै दुई दलबिच कडा टक्करले चुनावी माहोल तातेको हो । तीन क्षेत्रका गरी कुल २ लाख ६९ हजार २ सय ५६ मतदाता रहेका छन् ।

ललितपुर-१: त्रिपक्षीय प्रतिस्पर्धा

ललितपुर-१ मा २८ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ ७७ हजार ७ सय ३७ मतदाता रहेका छन् ।

यस क्षेत्रमा एमालेका चेतनाथ सञ्जेल विजय नजिक रहेको दावी गरिएको छ । उहाँलाई कांग्रेसका महामन्त्रीसमेत रहनुभएका निवर्तमान सांसद उदय समशेर राणाले पछ्याइरहनु भएको आँकलन गरिएको छ । रास्वपाका बुद्धरत्न महर्जन पनि प्रतिस्पर्धाको दौडमा रहनु भएको बताइएको छ ।

त्रिपक्षीय प्रतिस्पर्धाका कारण मत विभाजनको सम्भावना देखिएको छ । प्रमुख दलका शीर्ष नेताको प्रतिष्ठासँग जोडिएकाले यहाँको परिणामलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ललितपुर-२: एमाले-कांग्रेस सीधा भिडन्त

ललितपुर-२ मा २३ जना उम्मेदवार छन् भने ८९ हजार ८२ मतदाता रहेका छन् । यस क्षेत्रमा एमालेका प्रेमबहादुर महर्जन जित उन्मुख देखिनु भएको पाटनका स्थानीयको मूल्याङ्कन छ ।

कांग्रेसका प्रेमकृष्ण महर्जनले उहाँलाई कडा टक्कर दिइरहनु भएको जनाइएको छ । रास्वपाका जगदीश खरेल तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहनु भएको बताइन्छ । मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबिच केन्द्रित देखिएको छ ।

ललितपुर-३: दुईपक्षीय प्रतिस्पर्धा, राजकाजीको अग्रता

ललितपुर-३ मा २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ १ लाख २ हजार ४ सय ३७ मतदाता रहेका छन् ।

यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् संविधान सभा सदस्य राजकाजी महर्जन अग्रस्थानमा देखिनु भएको छ ।

कांग्रेसका जितेन्द्र मलेगु श्रेष्ठले उहाँलाई पछ्याइरहेको घरदैलो अभियानमा देखिन्छ । तेस्रो स्थानका लागि एमालेका सन्दन थापामगर र रास्वपाकी तोसीमा कार्कीबिच प्रतिस्पर्धा छ ।

ललितपुरका तीनै क्षेत्रमा दलगत प्रभाव, उम्मेदवारको व्यक्तिगत छवि र मत विभाजनले अन्तिम परिणाम निर्धारण गर्ने देखिएको छ ।

राजधानी भित्रैको शहरी जिल्ला भएकाले यहाँको परिणामलाई राष्ट्रिय राजनीतिक सन्दर्भमा पनि चासोका साथ हेरिएको छ । यद्यपी ललितपुर-१ को अधिकांश भुभाग ग्रामीण क्षेत्रमा पर्दछ ।

यि मूल्याङ्कन र अनुमान तथा आँकलन घरदैलो र चुनावी प्रचारका क्रममा देखिएका दृष्इबाट प्रभावित छन् । वास्तविक नतिजा आउन त मतपेटिकामा खसालिएका मतको गणना नै कुर्नु पर्ने हुन्छ ।

पूर्वानुमान र पूर्वमूल्याङ्कन गतिविधि र सङ्गठनात्मक चलायमानका आधारबाट गरिने हुँदा पूर्वानुमानलाई पनि सोही अनुसार बुझ्नु पर्ने हुन्छ ।

Author

Related News