ललितपुर । गोदावरी नगरपालिका वडा नं ५ को लेलेमा चितुवाको आक्रमणमा परेर एक जना घाइते भएका छन् ।
२०८२ फागुन १४ गते राति साढे ८ बजे लेलेको सुनारटोलस्थित गोरेटो बाटोमा चितुवाले आक्रमण गर्दा सोलुखुम्बु घर भएका ६१ वर्षीय रणबहादुर गर्तौला घाइते हुनु भएको हो ।
उहाँ कामबाट घर आउने क्रममा गोरेटो बाटोमा एक्कासी चितुवाले उहाँलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि घाइतेलाई बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिनु भयो ।
उहाँका अनुसार घाइतेको गोडामा चोट लागेको र अन्यत्र चोट नदेखिएकाले स्वास्थ्य अवस्था सामान्य हुँदै आएको चिकित्सकले बताएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरको मातहत प्रहरी चौकी लेलेबाट प्रहरी टोली खटेर घाइतेलाई उद्धार गरी आफन्त समेतको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएर उपचार भइरहेको छ ।
मृत चितुवाको लागि जिल्ला वन कार्यालयसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।