मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

शिक्षक हित साकोसद्वारा क्षमता विकास तालिम सम्पन्न

ललितपुर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सञ्चालक समिति, लेखा समिति तथा विभिन्न उपसमितिका सदस्यहरूका लागि आयोजना गरेको तीन दिने क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमसँगै संस्थाले सहकारी क्षेत्रमै अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्यसहित पाँच बुँदे ‘पोखरा प्रतिबद्धता’ समेत सार्वजनिक गरेको छ ।

संस्थाले सार्वजनिक गरेको प्रतिबद्धतामा त्रैमासिक रूपमा व्याजदर निर्धारण गर्ने, ऋण लगानीका नयाँ क्षेत्र पहिचान गरी विस्तार गर्ने, जोखिम पहिचान तथा व्यवस्थापन रणनीति तर्जुमा गर्ने, सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्ने तथा ऋण बीमा र मोबाइल बैङ्किङ सेवा प्रयोगमा ल्याउने उल्लेख गरिएको छ ।

तालिममा सहकारीको अवधारणा, सिद्धान्त र अभ्यास, सञ्चालक समितिको काम, कर्तव्य, भूमिका र दायित्व, संस्थाको वित्तीय अवस्था विश्लेषण, सहकारी कानुन तथा नियामकीय प्रबन्ध, नेतृत्व रूपान्तरण तथा जोखिम व्यवस्थापन रणनीतिजस्ता विषयमा सहजीकरण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शुक्र थापाले हाल तरलता केही प्रतिशत बढी देखिए पनि दीर्घकालीन रूपमा त्यसले असर पार्ने अवस्था नरहेको स्पष्ट पार्नु भयो ।

सचिव सुरेन्द्रकुमार घिमिरेले शिक्षक हित साकोस ललितपुरमा मात्र नभई देशकै नमूना सहकारीका रूपमा सञ्चालन हुनुपर्ने भएकाले चुनौती पनि उत्तिकै रहेको बताउनु भयो ।

संस्थाका व्यवस्थापक अर्जुन सञ्जेलका अनुसार हाल संस्थामा १ हजार ९ सय ४९ शेयर सदस्य रहेका छन् भने माघ महिनाको वासलत ४० करोड रुपियाँ बराबरको रहेको संस्थाले जनाएको छ ।

कार्यक्रमका वरिष्ठ प्रशिक्षक सन्जयराज तिमल्सिनाले सहकारीले थप विश्वास आर्जन गर्नुपर्ने र सदस्यहितका कार्यक्रमहरूमा नवीनता ल्याउनुपर्नेमा जोड दिनु भयो ।

उद्घाटन सत्रमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ललितपुरका जिल्ला अध्यक्ष देवीप्रसाद दुलालले सहकारी सञ्चालन गर्नु सङ्गठनको दायित्व र उद्देश्यसँग जोडिएको विषय भएकाले यसलाई अझ प्रभावकारी बनाइने बताउनु भयो ।

Author

Related News