पोखरा । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र परिपालना गराउन तथा उल्लङ्घन न्यूनीकरणका विषयमा पोखरामा समन्वय बैठक सम्पन्न भएको छ ।
२०८२ फागुन ८ गते आयोजित उक्त बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृतहरू, जिल्ला सुरक्षा निकायका प्रमुखहरू, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न राजनीतिक दलका प्रमुख एवं पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउँदै मर्यादित, अनुशासित र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा व्यापक छलफल भएको थियो ।
राजनीतिक दलका प्रतिनिधिहरूले आआफ्ना धारणा राख्दै आचारसंहिता कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माका अनुसार बैठकमा भएका निर्णयहरू पूर्ण रूपमा कार्यान्वयन गरिनेछ। उहाँले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलका झण्डा तथा राष्ट्रिय झण्डाको प्रयोग मर्यादित बनाउन, सवारी साधनमा झण्डा प्रदर्शन नगर्न, ध्वनी प्रदूषण नगर्न, सवारी साधनमा माइकिङ्ग नगर्न तथा निर्वाचन चिन्ह र दलका झण्डाको तोरण नटाँस्न आग्रह गर्नु भयो ।
साथै, आमसभा, बैठक, भेला वा प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनलाई अग्रिम जानकारी गराई अनुमति लिएर मात्र कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनु भयो ।
बैठकमा निर्वाचन खर्चको पारदर्शिता, कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका विषयमा पनि विशेष छलफल भएको थियो ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार कार्यविधि, २०८२’ अनुसार निर्वाचनमा भाग लिने सबै राजनीतिक दल, दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले निर्धारित मापदण्डभित्र रहेर प्रचारप्रसार गर्न आग्रह गरिएको छ ।
जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम जिल्ला आचारसंहिता अनुगमन समिति गठन भई सक्रिय रूपमा काम गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत शिव लम्सालले जानकारी दिनु भयो ।
उहाँका अनुसार आचारसंहिता अनुगमन अधिकृत तथा प्रदेश निर्वाचन कार्यालय, पोखरा समेत समन्वयात्मक रूपमा परिचालित छन् ।
निर्वाचनको स्वच्छता प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा लोकतान्त्रिक वैधता सुनिश्चित गर्न निर्वाचन आयोगले पर्यवेक्षणलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि राष्ट्रियस्तरका ३७ र अन्तर्राष्ट्रियस्तरका ४ गरी कुल ४१ संस्थालाई निर्वाचन पर्यवेक्षण अनुमति प्रदान गरिएको जानकारी दिइएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी बनाउन प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा सरोकारवाला निकायबीचको समन्वयलाई बैठकले थप मजबुत बनाएको विश्वास गरिएको छ ।
