काठमाडौँ । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।
राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले ढाकामा रहेको संसद् भवनमा २०८२ फागुन ५ गते एक कार्यक्रमकाबिच रहमानलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
यस्तै नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । यसअघि बिहान बीएनपी संसदीय दलले उहाँलाई सर्वसम्मत रूपमा नेता चयन गरेको थियो ।
बङ्गलादेशमा इतिहासमा पहिलो पटक मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह खुला आकाशमुनि आयोजना भएको छ ।
अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेपालसहित १३ ओटा देशलाई निमन्त्रणा पठाउनुभएको थियो । शपथ समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुनु भयो ।
बङ्गलादेशमा २०८२ माघ २९ गते भएको चुनावमा बीएनपीले दुईतिहाइ सिट जितेको थियो ।
६० वर्षीय तारिक रहमान पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुनुहुन्छ । उहाँ १७ वर्षपछि चुनावअघि मात्रै देश फर्किनुभएको हो ।
विद्यार्थी आन्दोलनले शेख हसिना नेतृत्वको सरकारलाई अपदस्थ गरेको १८ महिनापछि बङ्गलादेशमा चुनाव भएको हो ।
बङ्गलादेशका प्रधानमन्त्री रहमानले राजनीतिक स्थिरता पुनर्स्थापना गर्ने, लगानीकर्ताको विश्वास पुनर्निर्माण गर्ने र सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछिको लामो उथलपुथलपछि गार्मेन्ट क्षेत्रजस्ता प्रमुख उद्योगहरूलाई पुनर्जीवित गर्ने जस्ता तत्काल चुनौतीहरूको सामना गर्नु पर्ने समाचार संस्था रोयटर्सको खबरमा उल्लेख छ । फोटोः एएफपीबाट