मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

महाशिवरात्रिको अवसरमा पोखराका धार्मिक पीठमा भक्तजनको घुइँचो

पोखरा । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाशिवरात्रि पर्वका अवसरमा २०८२ फागुन ३ गते पोखराका विभिन्न धार्मिक शक्तिपीठ तथा शिवालयहरूमा भक्तजनको उल्लेखनीय घुइँचो लागेको छ ।

बिहानैदेखि श्रद्धालुहरू मन्दिर परिसरमा पुगेर भगवान् शिवको पूजाअर्चना, जलाभिषेक तथा बेलपत्र अर्पण गरेका छन् ।

हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्वका रूपमा मनाइने महाशिवरात्रिलाई शिवपुराणमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको पाइन्छ ।

विभिन्न वैदिक ग्रन्थमा उल्लेख भएअनुसार भगवान् शिवसँग नेपालको पवित्र भूमिको विशेष सम्बन्ध जोडिएको विश्वास गरिन्छ ।

शिवोत्पत्ति भएको मानिने मानसखण्डको भूभाग, शिवको विचरणस्थलका रूपमा परिचित हिमवत्खण्ड तथा निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमै रहनु नेपालीका लागि गौरवको विषय मानिन्छ ।

महाशिवरात्रिको अवसरमा सन्तानेश्वर महादेव मन्दिर, ओमकारेश्वर मन्दिर, शिवहरी मन्दिर, गुप्तेश्वर महादेव गुफा, केदारेश्वर मन्दिर, महादेव मन्दिर पुम्दीभुम्दी तथा विन्दवासिनी मन्दिर लगायतका मन्दिरहरूमा विशेष पूजा तथा धार्मिक कार्यक्रम सम्पन्न भएका छन् ।

भजन समूहहरूको समन्वयमा सामूहिक व्रत–उपवास, साँझ आरती, सामूहिक लाखबत्ती तथा ठाडो बत्ती बाल्ने, धुनी पूजा, १०८ शिवलिङ्गमा दूध, जल तथा बेलपत्र अर्पण, सामूहिक चुडाकर्म, निःशुल्क रक्त परीक्षण, विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन तथा बृहत् भजन साँझ आयोजना गरिएको छ ।

साथै पोखरा-६ हलनचोकमा १९औँ महाशिवरात्रि विश्व सङ्गीत महोत्सव–२०२६ समेत आयोजना गरिएको छ ।

यसै अवसरमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले महाशिवरात्रि पर्व २०८२ तथा नेपाली सेनाको २६३औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक देश भएकाले विविधताबीचको सहिष्णुता र आपसी सम्मान नेपाली समाजको मौलिक पहिचान रहेको उल्लेख गर्दै पर्वले राष्ट्रिय एकता, सद्भाव र आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।

Author

Related News