पोखरा । नेपाल आयल निगम प्रादेशिक डिपो पोखराको अनुगमन गर्दै कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आगामी आवधिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो ढंगले सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको बताउनुभएको छ ।
२०८२ फागुन १ गते प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति योजना र मौज्दात अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् ।
सो अवसरमा पोखरा महानगरपालिका–३२ अन्तर्गतका विभिन्न मतदानस्थलहरूको समेत निरीक्षण गरिएको थियो ।
अनुगमनका क्रममा गोगन माध्यमिक विद्यालय, चन्द्रज्योती आधारभूत विद्यालय, सिता आधारभूत विद्यालय, ब्रह्मारुपा माध्यमिक विद्यालय तथा वडा नं. ३२ स्थित अस्थायी प्रहरी पोष्टको सुरक्षा अवस्था, भौतिक पूर्वाधार र व्यवस्थापन तयारीको अवलोकन गरिएको थियो ।
प्रजिअ शर्माले निर्वाचनको समयमा आम नागरिकलाई सही, तथ्यपरक र तटस्थ सूचना प्रवाह गर्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नु भयो ।
सञ्चार माध्यमलाई राज्यको चौथो अङ्गका रूपमा उल्लेख गर्दै निर्वाचनका बेला हुने बहस र विमर्शलाई मिडियाले प्रभाव पार्ने भएकाले जिम्मेवार र सचेत भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँका अनुसार मिडियाबाट प्रवाह हुने निष्पक्ष र सन्तुलित सूचनाले निर्वाचनको विश्वसनीयता कायम राख्न तथा मतदातालाई सुसूचित निर्णय गर्न सक्षम बनाउँछ ।
आगामी दुई हप्ता निर्वाचन तयारीका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले सञ्चार क्षेत्रबाट सक्रिय सहयोगको अपेक्षा व्यक्त गर्नु भयो ।
प्रजिअ शर्माका अनुसार कास्की जिल्लामा रहेका १ सय ५३ मतदानस्थलमध्ये ५६ अति संवेदनशील, ५४ संवेदनशील र ४३ सामान्य रूपमा वर्गीकरण गरिएका छन् ।
क्षेत्र नम्बर ३ को छोमरोङमा सडक पहुँच नपुगेको र त्यहाँ पुग्न घान्द्रुकबाट करिब ४ घण्टा लाग्ने जानकारी दिइएको छ ।
जिल्लाका १ सय ३६ मतदानस्थल विद्यालय भवनमा, १४ वटा वडा कार्यालयमा तथा ३ वटा सामुदायिक भवनमा सञ्चालन हुनेछन् ।
मतदानस्थलको भौतिक संरचना अनुसार सुरक्षा घेरा, प्रवेश मार्ग, मतदाताको लाइन व्यवस्थापन र मतपेटिका सुरक्षित राख्ने स्थानको छुट्टाछुट्टै योजना बनाइएको बताइएको छ ।
यस आवधिक निर्वाचनमार्फत सङ्घीय संसदको प्रतिनिधि सभा सदस्यका लागि १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक गरी कुल २ सय ७५ जनप्रतिनिधि चयन हुनेछन् ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी अघि बढाएको जनाएको छ ।