पोखरा । पोखरा महानगरपालिका-२१ को भौगोलिक सीमाभित्र फोहोर व्यवस्थापन गर्ने नाममा डम्पिङ गर्ने तयारी गरिएको विषयप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा नं. २१ ले गम्भीर आपत्ति जनाएको छ ।
वडा कमिटी अध्यक्ष राजेन्द्र थापाद्वारा २०८२ माघ २९ गते जारी प्रेस विज्ञप्तिमा महानगर ३३ वडाहरूको साझा संरचना भएकाले सम्पूर्ण महानगरको फोहोर व्यवस्थापनको दायित्व एउटै वडाको भूगोलमाथि थोपर्नु न्यायोचित, व्यवहारिक तथा वैज्ञानिक दृष्टिले उपयुक्त नहुने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा वातावरणीय प्रभाव मूल्याङ्कन, जनस्वास्थ्यको संवेदनशीलता तथा दीर्घकालीन पर्यावरणीय असरलाई बेवास्ता गर्दै हतारमा निर्णय लिनु महानगरको गैरजिम्मेवार र निकृष्ट कार्य भएको टिप्पणी गरिएको छ ।
वडा नं. २१ प्राकृतिक सम्पदा, कृषियोग्य जमिन, बस्ती संरचना तथा जैविक विविधताका हिसाबले संवेदनशील क्षेत्र भएकाले यहाँ अवैज्ञानिक ढङ्गले फोहोर फाल्ने निर्णयले स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणमा गम्भीर असर पर्ने दाबी गरिएको छ ।
एमाले वडा नं. २१ ले एकतर्फी र अलोकतान्त्रिक निर्णय तत्काल रोक्न, वातावरणीय तथा प्राविधिक अध्ययनसहित सबै सरोकारवालासँग छलफल गरेर दिगो र वैज्ञानिक समाधान खोज्न महानगरपालिकासँग माग गरेको छ ।
साथै, यस विषयमा तत्काल पुनर्विचार नगरिए स्थानीय जनताको भावना र अधिकारको रक्षा गर्न आवश्यक आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।
जनस्वास्थ्य, वातावरण संरक्षण र दिगो विकासप्रति प्रतिबद्ध रहँदै जिम्मेवार निर्णय लिन सम्बन्धित निकायसँग पुनः आग्रह गरिएको छ ।
