विराटनगर । कोशी प्रदेश गल्फ सङ्घको आयोजना तथा चिभास रिगलको साझेदारीमा सम्पन्न ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट–२०२६’ को ग्रसतर्फको उपाधि जितेन्द्र राईले जित्नुभएको छ ।
धरानस्थित गल्फ कोर्समा २०८२ माघ १६ गते र माघ १७ गते सम्पन्न प्रतियोगितामा राईले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्नुभएको हो ।
ग्रसतर्फको उपविजेता पदम हाङ लिम्बू रहनुभएको थियो । नेटतर्फ सोम गुरुङले प्रथम स्थान हासिल गर्दा भुवन घिमिरे दोस्रो र प्रतापजङ्ग थापा तेस्रो स्थानमा रहनु भयो ।
महिलातर्फ ग्रसमा सम्झना खत्री विजेता बन्न सफल हुनुभयो भने नेटतर्फ जान्वी गुरुङले उपाधि जित्नुभयो । नेटतर्फकै दोस्रो स्थान बिना सापकोटाले हासिल गर्नु भयो ।
सिनियर स्पर्धाअन्तर्गत गणेश जिमीले उपाधि जित्दा तुलसीराम लिम्बू दोस्रो स्थानमा रहनु भयो । ह्याण्डिक्याप १ देखि ८ होलतर्फको स्पर्धामा सिद्धान्त सापकोटाले प्रथम स्थान प्राप्त गर्नु भयो भने अशोक सिंह दोस्रो र श्याम लिम्बू तेस्रो हुनु भयो ।
त्यसैगरी ह्याण्डिक्याप ९ देखि १६ होलतर्फ कृष्ण पुन प्रथम हुँदा हिरण प्रधान दोस्रो र श्याम तामाङ तेस्रो स्थानमा चित्त बुझाउनु भयो ।
प्रतियोगिताअन्तर्गत लङ्गेस्ट ड्राइभ प्रदीप सारडा, नियरेस्ट टु द पिन दिपेन्द्र राई, स्ट्रेट टु द लाइन दिपक मगर तथा मस्ट बर्डिज राम तामाङले जित्न सफल हुनुभएको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिनु भयो ।
विजेताहरूलाई इटहरीस्थित होटल रामाडामा आयोजित कार्यक्रममा अध्यक्ष प्याकुरेल, चिभास रिगलका कन्ट्री म्यानेजर सौरभ भट्टराईलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा कोशी प्रदेशसहित काठमाडौं, पोखरा तथा युके, सिंगापुर र युएईबाट गरी १३० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहेको थियो ।