मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

चुनावी मैदानमा चार धार, आफू मात्रै सच्चा क्रान्तिकारीः नेकपा

ललितपुर । २०८२ भदौ २३–२४ का घटनापछि मुलुकले भोगेको राजनीतिक अन्योल क्रमशः निर्वाचनको दिशातर्फ मोडिँदै गएको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना कार्यकर्ता र पार्टी पंक्तिका लागि जारी गरेको “अन्तरपार्टी निर्देशन-२” ले वर्तमान राजनीतिक शक्तिहरूको वर्गीकरण गर्दै स्पष्ट राजनीतिक विश्लेषण प्रस्तुत गरेको छ ।

दस्तावेजको बुँदा चौथो बुँदामा नेकपाले मुलुकको चुनावी राजनीतिमा सक्रिय शक्तिहरूलाई मूलतः चार धारमा विभाजन गरेको छ ।

यस वर्गीकरणले पार्टीको वैचारिक धारणा मात्र होइन, आगामी निर्वाचनलाई कसरी हेरेको छ भन्ने सङ्केत पनि गर्छ ।

दस्तावेजअनुसार पहिलो धार क्रान्तिकारी शक्ति हो, जसको मूल प्रतिनिधिका रूपमा नेकपाले आफूलाई प्रस्तुत गरेको छ ।

निर्देशनमा पार्टीले समाज रूपान्तरणको स्पष्ट दृष्टिकोण र समाजवादी कार्यदिशा अँगालेको दाबी गर्दै, वर्तमान सन्दर्भमा समाजको आमूल परिवर्तन गर्न सक्षम एकमात्र वैचारिक रूपमा सङ्गठित शक्ति आफू भएको उल्लेख गरेको छ ।

यो आत्मपरिभाषाले नेकपाले निर्वाचनलाई केवल सत्ताको प्रतिस्पर्धा नभई राजनीतिक रूपान्तरणको माध्यमका रूपमा बुझिरहेको देखाउँछ ।

दोस्रो धारका रूपमा दस्तावेजले यथास्थितिवादी शक्ति को चर्चा गरेको छ, जसमा नेकपा (एमाले) र नेपाली कांग्रेसलाई राखिएको छ ।

निर्देशनमा यी दलहरूले मुलुकलाई वर्तमान अवस्थाबाट अगाडि बढाउने कुनै नयाँ राजनीतिक, आर्थिक वा सामाजिक अवधारणा प्रस्तुत गर्न नसकेको टिप्पणी गरिएको छ ।


यो विश्लेषणले नेकपाको दृष्टिमा यी दलहरू व्यवस्था परिवर्तनभन्दा पनि विद्यमान शक्ति संरचनाको संरक्षणमा केन्द्रित रहेको बुझाइ प्रकट गर्छ ।

तेस्रो धार पपुलिष्ट शक्ति का रूपमा चिनाइएको छ । दस्तावेजमा आफूलाई नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्ने यी शक्तिहरूलाई सिद्धान्तहीन र दृष्टिकोणविहीन भनिएको छ ।

गएको भदौ २४ को घटनासँग जोडिएको उल्लेख गर्दै, यस्ता शक्तिहरूले मुलुकका समस्याको दीर्घकालीन समाधानका लागि कुनै स्पष्ट खाका दिन नसकेको निष्कर्ष निकालिएको छ ।


यो मूल्याङ्कनले नेकपाले पपुलिष्ट राजनीतिको उदयलाई अस्थायी र अस्थिर प्रवृत्तिका रूपमा हेरेको सङ्केत गर्छ ।

दस्तावेजमा उल्लेख गरिएको चौथो धार प्रतिगामी पुनरुत्थानवादी शक्ति हो । निर्देशनमा जनआन्दोलन र क्रान्तिमार्फत अन्त्य भइसकेको सामन्ती राजतन्त्र पुनःस्थापना गर्न चाहने शक्तिहरू सक्रिय भएको भन्दै त्यसको प्रतिनिधि रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई उल्लेख गरिएको छ ।


यसलाई लोकतान्त्रिक उपलब्धिमाथिको चुनौतीका रूपमा चित्रण गर्दै पार्टीले चुनावी राजनीतिमा प्रतिगामी एजेन्डाप्रति सचेत रहन कार्यकर्तालाई आग्रह गरेको देखिन्छ ।

“अन्तरपार्टी निर्देशन-२” को यो विश्लेषणले नेकपाले आगामी निर्वाचनलाई वैचारिक सङ्घर्षको मैदान का रूपमा लिएको प्रष्ट सङ्केत दिन्छ ।

चार धारको यो वर्गीकरणमार्फत पार्टीले आफ्ना कार्यकर्तालाई स्पष्ट मित्र-विरोधी र राजनीतिक ध्रुवीकरणको चित्र प्रस्तुत गर्न खोजेको देखिन्छ ।


राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो दस्तावेजले नेकपाको चुनावी रणनीति, गठबन्धनबारेको दृष्टिकोण र मतदातासमक्ष प्रस्तुत हुने राजनीतिक कथानकको आधार तय गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

आगामी निर्वाचन नजिकिँदै जाँदा, नेकपाले प्रस्तुत गरेको यो दस्तावेज-आधारित राजनीतिक व्याख्या चुनावी बहस र वैचारिक टकरावलाई थप तीव्र बनाउने अनुमान गरिएको छ ।

Author

Related News