मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कास्कीमा मतदानस्थल अनुगमनमा प्रजिअको सक्रियता

१५३ मतदानस्थलमा पूर्वतयारी तीव्र, २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने

पोखरा । आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न कास्की जिल्ला प्रशासनले मतदानस्थलको स्थलगत अनुगमनलाई तीव्र बनाएको छ ।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा कायम १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्रको पूर्वतयारी, पूर्वाधार सुधार र सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रादेवी शर्माको नेतृत्वमा गठन गरिएको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न मतदानस्थलहरूको निरीक्षण तथा मूल्याङ्कन गरेको हो ।

अनुगमन टोलीमा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासे, निर्वाचन क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृत सीता रेग्मी र निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत निर्मलाकुमारी खड्का, सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका सदस्य सचिव चित्राङ्ग बराल, सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी शिव लम्साल, प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, चार ओटै सुरक्षा निकायका प्रमुख तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रूपा गाउँपालिकाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरिएको प्रजिअ शर्माले जानकारी दिनु भयो ।

टोलीले स्थानीय जनप्रतिनिधि, गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षहरूसँग छलफल गर्दै मतदानस्थलको थप सुधार आवश्यक पर्ने विषयमा समन्वयसमेत गरेको छ ।

अनुगमनका क्रममा मतदानस्थलमा भौतिक पूर्वाधार, सुरक्षा प्रबन्ध, पहुँच सुविधा र मतदाता–मैत्री वातावरणको सूक्ष्म मूल्याङ्कन गरिएको जनाइएको छ ।

शौचालय, खानेपानी, प्रतीक्षालय, विद्युत् सेवा, अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री पहुँच, सुरक्षाकर्मी परिचालन, भीड व्यवस्थापन र आपतकालीन निकासजस्ता आधारभूत पक्षमा विशेष ध्यान दिइएको प्रजिअ शर्माले बताउनु भयो ।

केही स्थानमा संरचना मर्मत, सङ्केत बोर्ड थप, छायाँमा बस्ने व्यवस्था विस्तार र सुरक्षा घेराबन्दी सुदृढ गर्नुपर्ने देखिएपछि तत्काल सुधारका लागि स्थानीय तहसँग समन्वय सुरु गरिएको उहाँले जानकारी दिनु भयो ।

२०८२ माघ ९ गते पोखरा महानगरपालिका वडा नं ३० र ३१ का छवटा मतदानस्थलको अनुगमन सम्पन्न भएको छ। यसैबीच, माघ १० गते मुग्लिन–पोखरा सडक (पश्चिम खण्ड) को निरीक्षण तथा योजना अनुगमनसमेत गरिएको छ ।

अनुगमनका क्रममा योजनाको गुणस्तर, पारदर्शिता र प्रभावकारितामा विशेष ध्यान दिइएको जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले सम्पूर्ण मतदातालाई निर्भय, निर्धक्क र सुरक्षित वातावरणमा मतदानमा सहभागी हुन आह्वान गर्दै मतदाता–मैत्री र सहज मतदान सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी शिव लम्सालले निर्वाचनलाई विश्वसनीय बनाउन पूर्वतयारी नै मुख्य आधार भएको उल्लेख गर्दै सबै मतदानस्थल न्यूनतम मापदण्डअनुसार व्यवस्थापन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनु भयो ।

निर्वाचन सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाउन कास्की प्रशासनले २ हजार ८ जना निर्वाचन प्रहरी र २ सय ९५ जना सशस्त्र प्रहरी बल परिचालन गर्ने तयारी गरेको छ ।

यसका अतिरिक्त नियमित सुरक्षाकर्मीसमेत परिचालन गरिने र केन्द्रबाट प्राप्त सुरक्षा योजनाअनुसार तहगत सुरक्षा व्यवस्था मिलाइने प्रजिअ शर्माले स्पष्ट पार्नु भयो ।

माघ २१-२२ गतेदेखि नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षा डेस्क, आकस्मिक अवस्थाका लागि स्ट्राइकिङ टोली तथा मोबाइल सुरक्षा टोली परिचालन गरिने तयारी रहेको छ ।

निर्वाचनलाई भयरहित बनाउन मतदानस्थलहरूलाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन वर्गमा विभाजन गरिएको छ ।

साथै, विद्यालय र बालबालिकालाई निर्वाचन प्रयोजनमा प्रयोग नगर्न तथा बालअधिकार सुनिश्चित गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरिएको छ ।

प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार कास्कीका १ सय ५३ मतदानस्थलमध्ये हालसम्म करिब ७०–७५ स्थानको अनुगमन सम्पन्न भएको छ भने बाँकी स्थलहरूको निरीक्षण निरन्तर गरिनेछ ।

गण्डकी प्रदेशभरका १ हजार २ सय ९० मतदानस्थलमध्ये ५० अति संवेदनशील, ५० कम संवेदनशील र बाँकी संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरिएको उहाँले जानकारी दिनु भयो । निर्वाचन लक्षित मतदाता शिक्षा तथा जनचेतना कार्यक्रमसमेत सञ्चालन गरिने बताइएको छ ।

कास्की जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ ४४ जना पुरुष र ५ जना महिला गरी जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

तीमध्ये १ लाख ६० हजार १ सय ५३ महिला, १ लाख ४८ हजार ४ सय १५ पुरुष र अन्य चार जना मतदाता रहेका छन् ।

Author

Related News