मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत कथा समापन

ललितपुर । माघ शुक्ल पूर्णिमाका दिन आज २०८२ माघ १८ गते एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ ।

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।

त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबिच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदै छ ।

विधिपूर्वक एकमहिने व्रत गरेका ब्रतालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ ।

यहाँ करिब १ सय ६२ जना महिला र १५ जना पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका बताइएको छ ।

ललितपुरका गोटिखेलमा पर्ने कालेश्वर महादेव, माझखण्डमा पर्ने महारुद्रेश्वर महादेवलगायतका धार्मिक धाममा पनि आज विशेष पुजाअर्चना गरी स्वस्थानी पूर्णिमा मनाइँदै छ ।

Author

Related News