मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा ९३ जना कर्मचारी दिक्षित

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रशासन र प्राविधिक दुवै समूहका सेवा प्रवेश तालिम सम्पन्न गर्दै ९३ जना कर्मचारीलाई दिक्षित गरेको छ।

“व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार” नाराका साथ सञ्चालन गरिएको प्रशासन समूहको सेवा प्रवेश तालिम २०८२ मङ्सिर १४–१९ र प्राविधिक समूहको सेवा प्रवेश तालिम २०८२ मङ्सिर २१–२५ सम्म चलेको थियो ।

२१ जना इन्जिनियरिङ सेवा समूहका कर्मचारीलाई दिक्षित गरिएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले प्रदेश निजामती सेवाको शान र प्रभावकारितामा यस्ता तालिमले ठूलो योगदान पुर्‍याउने बताउनु भयो ।

उहाँले पारदर्शी सेवा प्रवाह र स्थानीय पूर्वाधार निर्माणमा सीपयुक्त जनशक्तिको आवश्यकता यस्तै तालिमले पूरा गर्ने उल्लेख गर्नु भयो ।

प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले इन्जिनियरिङ समूहका कर्मचारीका लागि सहायकस्तरमै पहिलोपटक प्राविधिक विषयमा केन्द्रित तालिम सञ्चालन गरिएको बताउनु भयो ।

यस्तो अभ्यासमूलक तालिमले स्थानीय तहमा देखिने प्राविधिक समस्या समाधान गर्न सहयोग पुग्ने उहाँले बताउनु भयो ।

तालिम संयोजक तथा प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलका अनुसार तालिम पूर्ण रूपमा प्राविधिक विषयवस्तुमा आधारित थियो, जसमा सब–इन्जिनियर र असिस्टेन्ट सब–इन्जिनियरहरूलाई फिल्ड बेस्ड अभ्यासमार्फत विभिन्न प्राविधिक चुनौती समाधानका सीप सिकाइयो ।

सहभागी सन्तुलन नेपालीले तालिमले प्राविधिक दक्षता बढ्नुका साथै दिगो पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गर्ने अनुभूति गरेको बताउनु भयो ।


त्यस्तै सहभागी दिपक खनालले लागत अनुमान, दररेट विश्लेषण, E-Bidding जस्ता संवेदनशील विषयमा प्रत्यक्ष अभ्यास गर्न पाएको र वातावरणीय मूल्याङ्कनदेखि खानेपानी, फोहोर व्यवस्थापन, फिल्ड गुणस्तर नियन्त्रणसम्मको विषयमा गहिरो ज्ञान प्राप्त भएको बताउनु भयो ।

समापन कार्यक्रम शिक्षा विकास महाशाखाको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रम प्रतिष्ठानका निर्देशक तिमिल्सिनाको अध्यक्षतामा चलेको र सञ्चालन प्रशिक्षण अधिकृत इन्जिनियर पौडेलले गरेका थिए।

प्रतिष्ठानका लेखा अधिकृत प्रशान्त सुवेदीका अनुसार प्रशासन तर्फ ७२ जना र प्राविधिक तर्फ २१ जना, गरी कुल ९३ जना सेवा प्रवेश तालिमबाट दिक्षित भएका छन्।

Author

Related News