पोखरा । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा २०८२ मङ्सिर २९ गते आयोजित वृहत खुला रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन भएको छ ।
नगर प्रमुख धनराज आचार्यले मानवीय जीवन बचाउन रगत अपरिहार्य रहेको उल्लेख गर्दै रगत उत्पादन गर्न वा किन्न नसकिने भएकाले स्थापना दिवसको अवसर पारेर खुला रक्तदान आयोजना गरिएको बताउनु भयो ।
उहाँले ९०/९० दिनमा रक्तदान गर्न सकिने भएकाले निरन्तर रक्तदानले कसैको ज्यान बच्न सक्ने भन्दै यसबारे प्रभावकारी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भयो । रक्तदान रेडक्रसको मात्र काम नभई सबैको साझा कर्तव्य भएको उहाँको भनाइ थियो ।
महानगरपालिकाले स्थापना दिवसका सन्दर्भमा विविध विधामा सम्मान कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ ।
‘पोखरेली नवरत्न सम्मान’ प्रदान गरिने र कार्य सम्पादन तथा मूल्याङ्कनका आधारमा कर्मचारीहरूलाई पुरस्कृत गरिने उल्लेख गरिएको छ । सर्वोत्कृष्ट, उत्कृष्ट तथा कर्तव्यनिष्ठ कर्मचारीलाई सम्मान गरिने महानगरले जनाएको छ ।
त्यस्तै सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नगर प्रमुख आचार्यले जानकारी दिनु भयो ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै महानगरले यसलाई ‘महानगर मातापिता सम्मान’ नाम दिएको इन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।
रक्तदान कार्यक्रममा महानगरपालिकाका कर्मचारी, नगर प्रहरी, सर्वसाधारण नागरिक तथा स्वतस्फूर्त रक्तदाताहरूको सहभागिता रहेको थियो ।
महानगरपालिकाले पुस २ गते स्थापना दिवसको मुख्य दिन मानी विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।