मानव आवाज

२०८३ असोज २१ गते
00: 00: 00
२०८३ असोज २१ गते

गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनको वार्षिकोत्सवमा ५६ युनिट रक्तदान

पोखरा । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, नयाँबजार पोखराको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ५६ युनिट रगत सङ्कलन भएको छ ।

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र, पोखराको प्राविधिक सहयोगमा २०८३ असोज २० गते कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको शुभारम्भ पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतमले पहिलो रक्तदाता वीरबहादुर पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन नयाँ नेतृत्व र सक्षम व्यक्तित्व निर्माण गर्न सफल संस्था भएको बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा रक्तदानजस्तो सामाजिक कार्य आयोजना गरेकोमा प्रशंसा गर्दै उहाँले पोखरा उद्योग वाणिज्य सङ्घले संस्थाका गतिविधिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफूलाई पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्ष बनाउन एशोसिएसनको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै गौतमले व्यवसायीको हकहितमा समर्पित भएर काम गर्ने बताउनुभयो ।

उहाँले पोखरामा ‘अटोल्याण्ड’ निर्माणको विषयलाई प्राथमिकताका साथ अघि बढाउने र एशोसिएसनलाई आमन्त्रित सदस्यका रूपमा समेटेर सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संस्थाको ३३औँ वार्षिकोत्सवको महत्व, संस्थाले गर्दै आएका नियमित गतिविधि तथा अटोमोबाइल क्षेत्रले पुर्‍याउँदै आएको योगदानबारे जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक तथा स्वास्थ्य सल्लाहकार डा. रविन्द्र श्रेष्ठले रक्तदानको महत्वबारे प्रकाश पार्दै चिकित्सा विज्ञानले जतिसुकै प्रगति गरे पनि मानव शरीरमा आवश्यक रगतको आपूर्ति गर्न रक्तदानको विकल्प नरहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले स्थापना दिवसका अवसरमा खुला रक्तदानजस्तो सामाजिक कार्य आयोजना गरेर एशोसिएसनले उल्लेखनीय योगदान गरेको बताउनुभयो ।

संस्थाका पूर्वअध्यक्ष सनत कुमार भट्टराईले एशोसिएसन नेपालकै पहिलो अटो मेकानिकल संस्थामध्ये एक रहेको उल्लेख गर्दै हाल ३/४ सय संस्था आबद्ध रहेको जानकारी दिनुभयो ।

पोखरा सहरको विस्तार तीव्र भइरहेकाले व्यवस्थित ‘अटोल्याण्ड’को आवश्यकता रहेको भन्दै त्यसका लागि पहल गर्न उहाँले आग्रह गर्नुभयो ।

अग्रज रक्तदाता तथा संस्थाका प्रेस सल्लाहकार कृष्णबहादुर थापाले अग्रजहरूले निर्माण गरेको बलियो आधारकै कारण संस्था वर्तमान अवस्थामा आइपुगेको बताउँदै सबैलाई नियमित रक्तदान गर्न आह्वान गर्नुभयो ।

एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नवराज सुनारले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव विजेन्द्र चौधरीले गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार