पोखरा । पोखरा कम्युनिटी सेन्टरको आयोजना एवम् पोखरा महानगरपालिका वडा नं १५ को समन्वयमा आयोजित निःशुल्क दन्त परीक्षण शिविर २०८२ साउन १८ गते सकिएको वडा अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिनु भयो ।
वडा अध्यक्ष बानियाँका अनुसार तीन दिनसम्म सञ्चालित निःशुल्क शिविरको पहिलो दिन १ सय १० जना, दोस्रो दिन १ सय ५० जना र तेस्रो दिन १ सय ९५ गरी कूल ४ सय ५५ जना दन्त परीक्षणबाट लाभान्वित भएका छन् ।

शिविरबाट वडावासी सहित पोखराका अन्य सेवाग्राहीले सेवा लिएको उहाँको भनाइ रहेको छ । पोखरा कम्युनिटी सेन्टरका संयोजक प्रकाश पार्कले गत वर्ष र यस वर्षको अनुभवले सकारात्मक प्रतिक्रिया आएसँगै आगामी वर्ष पनि शिविरलाई निरन्तरता दिन थप प्रेरणा एवम् उत्साह मिलेको बताउनु भयो ।
संयोजक पार्कका अनुसार अमेरिकाको क्रिकल्याण्ड कर्नरस्टोन डेन्टलका डा. से जिन एनको नेतृत्वमा १५ सदस्यीय चिकित्सकीय टोलीले अत्याधुनिक मेशीनद्वारा दन्त परीक्षण गरिएको हो ।
संयोजक पार्कले वडा अध्यक्ष एवम् वडा कार्यालय परिवारको सहयोग तथा समन्वय र आम वडावासी नागरिकको घरआँगनमा निःशुल्क उपचार गर्ने अवसर पाइएकोले हर्षित भएको बताउँदै शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गरिएको जानकारी दिनु भयो ।