काठमाडौँ । राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सातओटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको छ ।
निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान हुने आयोगले जनाएको छ ।
निर्वाचनमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी एक्लै चुनावी मैदानमा छ ।
जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशबाट तीन सिटमा उम्मेदवारी दिएको छ भने एक सिटमा लोकतान्त्रिक समाजवादीबाट उम्मेदवार रहेका महन्थ ठाकुरलाई समर्थन गरेको छ ।